आर्थिक दबाबकाबीच गौतमबुद्ध विमानस्थलमा भारततर्फबाट विमान प्रवेशको पर्खाइ

आर्थिक दबाबकाबीच गौतमबुद्ध विमानस्थलमा भारततर्फबाट विमान प्रवेशको पर्खाइ

बुटवल : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण नजिकिँदै गर्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई प्रवेश मार्गको विषय पुनः उठेको छ। विमानस्थलका लागि सहज हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग उच्चस्तरीय पहल गर्नुपर्ने मागसँगै यो मुद्दा फेरि चर्चामा आएको हो।

करिब ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएको राष्ट्रिय गौरवको भैरहवा विमानस्थल सञ्चालनमा आइसक्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन। अहिले विमानस्थलमा अवतरण गर्ने विमानले सिमरा प्रवेश बिन्दु हुँदै नेपाली आकाशमा प्रवेश गर्नुपर्ने व्यवस्था छ। पश्चिमबाट भैरहवा आउने विमानले समेत पूर्वतर्फ घुमेर आउनुपर्दा उडान दूरी, समय र इन्धन खर्च बढ्ने गरेको छ। 

भारतीय आकाश हुँदै भैरहवामा सहज प्रवेश पाउने व्यवस्था भए विमान कम्पनीको सञ्चालन खर्च घट्ने र नयाँ वायुसेवा कम्पनीलाई आकर्षित गर्न सकिने व्यवसायीहरूको अपेक्षा छ। त्यसैले प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा उक्त मुद्दा उठाउन उनीहरूको माग छ। 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको पर्यटन तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा थियो। विमानस्थललाई नै आधार बनाएर पाँचतारे, चारतारे र तीनतारेदेखि सामान्य पर्यटकीय होटल, रेस्टुरेन्ट, ट्राभल्स र यातायातसहित पर्यटकीय सेवाहरू व्यवसाय विस्तार भए। तर, विमानस्थल पूर्ण क्षमतामा चल्न नसक्दा यहाँको निजी क्षेत्र आर्थिक दबाब झेल्नुपर्ने अवस्थामा पुगेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालका अनुसार सहज हवाई सम्पर्क स्थापित भए भारतीय सहरबाट भैरहवामा सीधा उडान सञ्चालन गर्ने सम्भावना रहन्छ। त्यसैले भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना विस्तार गर्न भारतसँगको हवाई मार्गसम्बन्धी समस्या समाधान हुनु आवश्यक रहेको उनी बताउँछन्। 

जडीबुटी, तरकारी तथा फलफूलको निर्यातका लागि क्वारेन्टाइन सुविधा, बेलहिया सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन र भारतीय मालवाहक रेलको पहुँच जस्ता विषयलाई पनि सँगै अगाडि बढाउनुपर्ने उनको धारणा छ। तर, विमानस्थल पूर्ण क्षमतामा चल्न नसक्नुमा हवाई मार्ग मात्र नभई यात्रु अभाव, प्राविधिक सुविधा र सरकारी सेवाको केन्द्रीकरण, वायुसेवा कम्पनीसँगको व्यावसायिक समन्वय र स्पष्ट सञ्चालन योजनाको अभाव पनि उत्तिकै जिम्मेवार रहेको सरोकारवाला बताउँछन्।

आन्तरिक विषयहरू समाधानका लागि पनि सरकारले सक्रियता देखाउनुपर्ने माग पनि उतिकै उठिरहेको छ। केही महिनाअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर पौडेलले विमानस्थल सञ्चालनको प्रमुख चुनौती हवाई मार्गभन्दा यात्रु अभाव भएको बताएका थिए। विमान अवतरणका लागि आवश्यक व्यवस्था हुँदाहुँदै पनि यात्रु नपाउँदा नियमित उडान सञ्चालन गर्न कठिन भएको उनको भनाइ थियो।

विमानस्थलका सूचना अधिकारी पवन अग्रहरि बानियाले सिमरा प्रवेश बिन्दु प्रयोग गरेर पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुँदै आएको बताए। विमानस्थलमा अहिलेसम्म एक हजार दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भइसकेको जानकारी उनले दिए। छोटो हवाई मार्ग उपलब्ध भए सञ्चालन खर्च घट्ने भए पनि विमानस्थलको नियमित सञ्चालन र प्रवर्द्धनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले समेत उडानमार्फत नेतृत्व लिनुपर्ने उनको भनाइ छ। 

काठमाडौं केन्द्रित सेवा, भैरहवामा यात्रु कसरी बढाउने ?
भैरहवा विमानस्थलको यात्रु आधार विस्तार गर्न सकिने एउटा महत्त्वपूर्ण क्षेत्र वैदेशिक रोजगारी हो। लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नागरिक वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा अन्य गन्तव्यमा जाने गरेका छन्। तर भैरहवाबाट सहज रूपमा अन्तर्राष्ट्रिय उडान उपलब्ध नहुँदा उनीहरू काठमाडौं वा भारतीय विमानस्थल प्रयोग गर्न बाध्य छन्।

वैदेशिक रोजगारीमा जाने यात्रुले आवश्यक पर्ने श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, भिसा सेवा तथा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्न काठमाडौं धाउनुपर्ने अवस्थाले पनि भैरहवाबाट उडान गर्ने सम्भावना कमजोर बनाएको व्यवसायीहरू बताउँछन्।

स्थानीय पर्यटन व्यवसायीहरूले श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, भिसा सेन्टर, ग्राउन्ड ह्यान्डलिङ र वैदेशिक रोजगारसम्बन्धी सेवा भैरहवा तथा बुटवलमा विस्तार गर्नुपर्ने माग गर्दै आएका छन्। विशेषगरी नारायणी पश्चिमका जिल्लाबाट वैदेशिक रोजगारीमा जाने ठूलो संख्याका यात्रुलाई लक्षित गरी सेवा विकेन्द्रीकरण गर्न सके विमानस्थलको यात्रु बजार विस्तार हुने नाटा लुम्बिनी प्रदेशकी पूर्व अध्यक्ष रचना पन्तले बताइन्।

होटल तथा पर्यटन व्यवसायी सिपी श्रेष्ठले विमानस्थल सञ्चालनमा देखिएको समस्यालाई हवाई मार्गको सीमाभन्दा फराकिलो ढंगले हेर्नुपर्ने बताए। "प्राविधिक सुविधा, व्यवस्थापन र प्रशासनिक अधिकार समेत काठमाडौंमै केन्द्रित हुँदा भैरहवाले आफ्नो सम्भावना उपयोग गर्न पाएको छैन। विमानस्थललाई प्रभावकारी बनाउन आवश्यक निकाय र सेवाहरू स्थानीय स्तरमै उपलब्ध गराउनुका साथै सञ्चालनमा व्यवस्थापकीय स्वायत्तता दिनुपर्छ," उनले भने।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेका केही अन्तर्राष्ट्रिय उडान भैरहवा स्थानान्तरण गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने र काठमाडौंको हवाई चाप घटाउनुका साथै भैरहवामा नियमित उडानको आधार तयार गर्न सक्ने उनले बताए।

आईएलएस सञ्चालनमा पनि प्राविधिक अन्योल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अर्को चुनौती उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) को प्रभावकारी प्रयोग हो। कम दृश्यता भएका अवस्थामा पनि विमानलाई सुरक्षित अवतरण गराउन सहयोग गर्ने यो प्रणाली पूर्ण क्षमतामा प्रयोग हुन नसक्दा मौसम प्रतिकूल भएको समयमा उडान प्रभावित हुने जोखिम छ।

विमानस्थलमा जडान गरिएको आईएलएसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सीमावर्ती हवाई क्षेत्र व्यवस्थापन र आवश्यक उडान प्रक्रिया सम्बन्धी प्राविधिक सहमति जुटाउनुपर्ने देखिन्छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानसम्बन्धी निकायबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाल र भारतका प्राविधिक टोलीबीच छलफल गरेर आईएलएसमा आधारित अवतरण प्रणाली सञ्चालनको बाटो खोल्नुपर्ने बताए। उनले न्यून दृश्यता भएका अवस्थामा समेत विमान अवतरण गर्न सकिने व्यवस्था विमानस्थलको विश्वसनीयता र नियमित सञ्चालनका लागि महत्त्वपूर्ण हुने बताए।

नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा भने हवाई मार्गको समस्या लामो समयदेखि कायम रहेकाले त्यसको समाधानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। "पूर्वबाट आउने विमानलाई अहिलेको व्यवस्थाले तुलनात्मक रूपमा कम असर गरे पनि पश्चिमबाट आउने विमानले लामो दूरी तय गर्नुपर्ने बाध्यता छ। यात्रु अभावलाई बेवास्ता गर्न नमिल्ने भए पनि अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई प्रवेश मार्गको समस्या समाधान नगरी विमानस्थलको व्यावसायिक सम्भावना विस्तार गर्न कठिन हुन्छ," उनले भने।

हवाई मार्ग र प्राविधिक सहमति प्राप्त भएपछि विमानस्थललाई कसरी सञ्चालन गर्ने भन्ने जिम्मेवारी भने नेपालकै हुने उनको भनाइ छ। त्यसका लागि सरकारले उडान विस्तार, यात्रु आकर्षण र वायुसेवा कम्पनीसँगको व्यावसायिक साझेदारीलाई समेटेर कार्ययोजना बनाउनुपर्ने उनले बताए।

अर्बौंको लगानी, प्रतिफलको प्रतीक्षामा होटल व्यवसायी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकको आवागमन बढ्ने अपेक्षामा भैरहवा, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल तथा पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेको छ। पाँच तारे देखि सामान्य पर्यटकीय होटल, रेस्टुरेन्ट, ट्राभल्स, यातायात र अन्य सेवा व्यवसाय विस्तार भएका छन्।

होटल व्यवसायीका अनुसार भैरहवा-लुम्बिनी क्षेत्रमा होटल क्षेत्रमा मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। पाँचतारे, चारतारे र तीनतारे होटल सहित हजारौं पर्यटकीय सेवा व्यवसाय सञ्चालनमा छन्। तर विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित विदेशी पर्यटक भित्रिन सकेका छैनन्।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राजेश महोत्राले विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले ठूलो पुँजी लगानी गरेको बताए। तर अन्तर्राष्ट्रिय उडान र पर्यटक आवागमन नियमित हुन नसक्दा होटल व्यवसायले लगानी अनुसारको आम्दानी गर्न नसकेको उनले बताए। बैंकको ऋण, ब्याज, कर्मचारीको तलब र दैनिक सञ्चालन खर्च धान्नुपर्ने बाध्यताले व्यवसायीलाई थप समस्यामा पारेको उनको भनाइ छ।

विमानस्थल सञ्चालनको आशामा गरिएको लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित गर्न सरकारले अब ठोस कार्यक्रम ल्याउनुपर्ने व्यवसायीहरूको माग छ। व्यवसायी हरिप्रसाद अर्याल पनि विमानस्थल सँगै जोडिएका अन्य पूर्वाधारलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताउँछन्। 

उनका अनुसार बेलहियामा निर्माण भएको सुक्खा बन्दरगाहलाई प्रभावकारी बनाउने, भारतीय मालवाहक रेलको पहुँच विस्तार गर्ने र सीमावर्ती सडक सञ्जाल सुधार गर्ने कामले पनि यस क्षेत्रको आर्थिक गतिविधि बढाउन सक्छ। विमानस्थललाई अलग्गै परियोजनाका रूपमा नभई पर्यटन, व्यापार र यातायातको एकीकृत केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

मंसिर ४, २०८३ शुक्रबार १९:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।