दानबहादुर कार्कीको पुनर्बहाली रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको बुधबारको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै इजलासले कार्कीलाई आइजिपीमा पुनर्बहाली नगर्नुको कारण पेस गर्न सरकारसँग लिखित जवाफ माग गरेको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा झिकाउने आदेश भएको छ।
डेढ वर्ष कार्यकाल बाँकी छँदै पदबाट हटाइएका कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका थिए। आफूलाई सुनुवाइको मौकासमेत नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै उनले सरकारको निर्णय बदर गरी आइजिपी पदमा पुनर्बहाली गर्न रिटमा माग गरेका छन्।
सरकारले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले एआईजी रहेका डा. मनोजकुमार केसीलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
मंसिर २, २०८३ बुधबार १५:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।