विषादी सेवन गरेकी बिरामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते

विषादी सेवन गरेकी बिरामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते

काठमाडौं : दैलेखस्थित कर्णाली राजमार्गमा सोमबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

गुराँस गाउँपालिका-१ काफलतोलीस्थित सडकखण्डमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका-६ का ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा बिहान ८:५६ बजे मृत्यु भएको छ। कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बिहान करिब साढे ५ बजे उक्त जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी घाइते हुनेहरूमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय चालक योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा रहेका छन्। त्यस्तै सन्नित्रिवेणी-६ की ३६ वर्षीया जादुकाल सार्की र विषादी सेवन गरेकी २७ वर्षीया बिरामी कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। 

घाइते सबैको शरीरका विभिन्न भाग तथा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै सबै घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो।

कात्तिक २३, २०८३ सोमबार १०:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।