भारतीय नागरिकसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ
काठमाडौं : मोरङको जहदा गाउँपालिका-२ मोहनपुरमा एक पुरुषको हत्या गरेको आरोपमा मृतककी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।
स्थानीय ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उनकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका हुन्।
आइतबार राति करिब ९ बजे बास्के र मिश्रले मिलेर सोरेनको टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना लगत्तै प्रहरीले हत्यामा प्रयोग भएको रडसहित मिश्रलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेकी बास्केलाई भने सोमबार बिहान करिब साढे सात बजे खेतको बाटो हुँदै भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
कात्तिक २३, २०८३ सोमबार १०:२८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।