देशका अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली र पहाडी भेगका छिटपुट स्थानमा वर्षा-हिमपातको पूर्वानुमान
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा बादल लागेको छ।
नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। देशका तराइ भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
कात्तिक २३, २०८३ सोमबार ०९:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।