डोल्पा कारागारबाट सुरुङ खनेर भागेकामध्ये छ जना पक्राउ

डोल्पा कारागारबाट सुरुङ खनेर भागेकामध्ये छ जना पक्राउ

कर्णाली : डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये हालसम्म छ जनालाई पक्राउ परेका छन्। प्रहरीले आइतबार थप दुई जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन्। उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका- ४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए। यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए। भागेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कात्तिक २३, २०८३ सोमबार ०७:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।