विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित
काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने ‘साम्वा’सहित सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कुकुरहरूलाई सम्मान गरिएको छ।
काठमाडौंको नक्सालस्थित नारायणचौर पार्कमा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरीको ‘सर्च एन्ड रेस्क्यु’ समूहमा कार्यरत तालिमप्राप्त कुकुर ‘साम्वा’लाई मुख्य मञ्चमा राखेर पूजाअर्चनासहित विशेष सम्मान गरिएको हो।
ल्याब्राडोर जातको साम्वाले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धारका क्रममा १५ वटा शव पत्ता लगाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको बलम्बुस्थित ‘पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखा’मा पनि विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाएको छ।
उक्त कार्यक्रममा राष्ट्रसेवक कुकुरहरूको पूजाअर्चना गरिनुका साथै उनीहरूले आफ्नो उत्कृष्ट व्यावसायिक क्षमता तथा कला-कौशल प्रदर्शन गरेका थिए।
मानव सुरक्षा, अपराध अनुसन्धान, सीमा सुरक्षा सुदृढीकरण तथा प्राकृतिक विपद् व्यवस्थापनमा कुकुरहरूले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।
सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरहरू विभिन्न सुरक्षा चुनौतीको सामना गर्न र प्राकृतिक विपद्का कठिन परिस्थितिहरूमा खोज तथा उद्धार कार्यका लागि भरपर्दो आधार बन्दै आएका छन्।
कात्तिक २२, २०८३ आइतबार २०:१०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।