टर्की, साउदी र पाकिस्तानबिच 'मक्का रक्षा सम्झौता' : टर्कीद्वारा संसद्मा प्रस्ताव पेस, एकमाथि आक्रमण भए सबैले सामूहिक प्रतिवाद गर्ने

टर्की, साउदी र पाकिस्तानबिच 'मक्का रक्षा सम्झौता' : टर्कीद्वारा संसद्मा प्रस्ताव पेस, एकमाथि आक्रमण भए सबैले सामूहिक प्रतिवाद गर्ने

एजेन्सी : टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको 'मक्का संयुक्त रक्षा सम्झौता' अनुमोदनका लागि आफ्नो संसद्मा प्रस्ताव पेस गरेको छ। नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो यो सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई सबैमाथि भएको आक्रमण मानिनेछ।

गत अगस्टमा इरान युद्ध र क्षेत्रीय अस्थिरताका बीच साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यस ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यसले साउदी अरब, आणविक शक्ति सम्पन्न पाकिस्तान र नेटोको दोस्रो ठूलो सेना भएको टर्कीलाई एउटै सुरक्षा घेरामा बाँधेको छ।

तीन देशले यसै महिनाको सुरुमा रियादमा भएको बैठकमा सामूहिक रक्षा प्रतिबद्धता तत्काल कार्यान्वयन गर्ने सहमति गरेका थिए। टर्की र पाकिस्तानले साउदी अरबलाई हवाई रक्षा, विद्युतीय युद्ध प्रणाली र प्राविधिक सहयोग उपलब्ध गराउने सम्भावनाबारे छलफल गरिरहेका छन्। यद्यपि, सैन्य परिचालनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

पाकिस्तानले साउदी अरबमा ३० हजारदेखि ४० हजार सैनिक तैनाथ गरिसकेको भन्ने समाचारलाई अनुमानमा आधारित भन्दै अस्वीकार गरेको छ। सन् १९८० को दशकदेखि पाकिस्तानी सैनिकले साउदी सेनालाई तालिम र परामर्श दिँदै आएका छन्। पाकिस्तानका अधिकारीहरूले नयाँ सम्झौताअन्तर्गत पनि सहयोग रक्षात्मक हुने बताएका छन्।

टर्कीको सरकारी प्रसारक टीआरटीले सार्वजनिक गरेको १६ बुँदे सम्झौतामा संयुक्त सैन्य तालिम, अभ्यास, हतियार उत्पादन, प्रविधि हस्तान्तरण र गुप्तचर सूचना आदानप्रदानको व्यवस्था छ। सम्झौताअनुसार तीन देशले पहिलो १० वर्षसम्म यसबाट अलग हुन पाउने छैनन्। त्यसपछि बाहिरिन चाहेमा तीन महिनाअघि सूचना दिनुपर्नेछ।

टर्कीको संसद्ले सम्झौता अनुमोदन गर्नुअघि संसदीय समितिले त्यसको समीक्षा गर्नेछ। टर्कीका सैनिक परिचालन गर्नुपरेमा छुट्टै संसदीय स्वीकृति आवश्यक पर्नेछ। पाकिस्तानले भने सम्झौताका लागि संसदीय अनुमोदन प्रक्रिया अघि बढाएको छैन।

सम्झौता कार्यान्वयनका लागि तीन देशका विदेशमन्त्री, रक्षामन्त्री र सेना प्रमुख सम्मिलित रणनीतिक राजनीतिक तथा रक्षा समितिले वर्षमा दुई पटक बैठक गर्ने अपेक्षा गरिएको छ। यसको सचिवालय साउदी अरबमा रहनेछ भने सेवानिवृत्त पाकिस्तानी जनरल नौमान महमुदलाई पहिलो महासचिव चयन गरिएको छ। उनको कार्यकाल तीन वर्षको हुनेछ।

कात्तिक ५, २०८३ बिहीबार १४:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।