दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी, अधिकांश चार वर्षमुनिका बालबालिका
एजेन्सी : दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। बिरामीमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्।
राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन्। नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ।
ब्रोन्खोस्र्टस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रभावकारी नहुँदा नदी दूषित भएको पनि अधिकारीहरूले बताएका छन्। पानीको गुणस्तरबारे समयमै जानकारी नदिइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन्।
यसैबिच, पूर्वी केप प्रान्तको ग्केबेरास्थित रोड्स विश्वविद्यालयका कम्तीमा १११ विद्यार्थी पनि पेट दुख्ने र पखाला लाग्नेजस्ता समस्याबाट बिरामी परेका छन्। विश्वविद्यालयले पानीको खराब गुणस्तरका कारण प्रकोप फैलिएको हुन सक्ने आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ। गम्भीर बिरामी विद्यार्थी उपचारपछि क्याम्पस फर्किएका छन्।
विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउन र दाँत माझ्न सुरक्षित पानी प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुन आग्रह गरेको छ।
कात्तिक ५, २०८३ बिहीबार १५:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।