साउदी अरबको तेल खानीमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
एजेन्सी : साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको अराम्कोद्वारा सञ्चालित सायबाह तेल खानीलाई लक्षित गरी पठाइएको ड्रोनलाई सेनाले बीचमै निष्क्रिय पारिएपछि त्यसको अवशेष खस्दा एक नेपाली नागरिकसहित दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ड्रोनलाई प्रतिरक्षा प्रणालीले हावामै ध्वस्त पारेपछि त्यसको भग्नावशेष ठेकेदार कम्पनीको गाडीमा खस्दा भीषण आगलागी भएको थियो। बुधबार भएको उक्त दुर्घटनामा परी नेपाली र फिलिपिनो नागरिकको ज्यान गएको हो भने भारतीय र पाकिस्तानी नागरिक घाइते भएका हुन्।
मृतक नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन।
इरान समर्थित हुथी विद्रोहीहरूले साउदीका विमानस्थल र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएका छन्। यी आक्रमणले ऊर्जा उत्पादन केन्द्र तथा नागरिक सुरक्षामा जोखिम बढाएको छ।
गत महिना पनि हूथी ड्रोनको भग्नावशेष लाग्दा साउदीमा बसोबास गर्दै आएका एक यमनी नागरिकको मृत्यु भएको थियो। यसै महिनाको सुरुतिर साउदी अरबको पूर्वी प्रान्तमा रहेको अराम्कोको प्रशासनिक भवनलाई लक्षित गरी भएको आक्रमणपछि भवनमा सीमित आगलागी भएको थियो। अराम्को विश्वकै ठूला तेल तथा ऊर्जा कम्पनीमध्ये एक हो। उक्त घटनाबारे पनि साउदी ऊर्जा मन्त्रालयले जानकारी दिएको थियो।
यस्तै, बुधबार राति साउदी अरबको पूर्वी क्षेत्रस्थित दमाममा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जना साउदी नागरिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणले बिहीबार बिहान उक्त घटनाबारे जानकारी दिएको हो।
प्राधिकरणका अनुसार आक्रमणबाट विमानस्थलमा भौतिक क्षतिसमेत पुगेको छ। विश्वव्यापी उडान निगरानी सेवा फ्लाइटरडार२४ ले सामाजिक सञ्जाल एक्समार्फत विमानस्थलतर्फ गइरहेका उडानलाई अन्यत्र मोडिएको जनाएको छ।
आक्रमण कसले गराएको हो भन्नेबारे साउदी अधिकारीहरूले अहिलेसम्म खुलाएका छैनन्। यद्यपि, साउदी नेतृत्वको गठबन्धनले पूर्वी क्षेत्रमा गरिएका चारवटा ड्रोन आक्रमणलाई निष्क्रिय पारेको जनाएको छ। इरान समर्थित हुथी विद्रोहीले भने पछिल्लो आक्रमणबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
यसैबीच, साउदी अरबमा पछिल्ला दिनमा भएका घातक आक्रमण र द्वन्द्व थप चर्किने आशंकाका बीच अमेरिकाले बुधबार राति आफ्ना केही कूटनीतिज्ञ तथा अमेरिकी सरकारी कर्मचारीका परिवारलाई साउदी अरब छाड्न आदेश दिएको छ।
हुथी विद्रोही र साउदी समर्थित यमनी सरकारी सेनाबिच पुनः लडाइँ सुरु भएपछि क्षेत्रीय तनाव थप बढेको छ। यसले यमनमा कायम रहेको चार वर्षे युद्धविराम भंग गरेको छ। यमनमा पुनः सुरु भएको द्वन्द्वले विस्तार हुँदै गएको मध्यपूर्व संकटलाई थप चर्काएको छ।
साउदी अरबका तेल क्षेत्र तथा विमानस्थललाई लक्षित गरी भइरहेका आक्रमणले त्यहाँ कार्यरत नेपालीसहित विदेशी श्रमिकको सुरक्षा र मध्यपूर्वको समग्र सुरक्षा अवस्थाबारे चिन्ता बढाएको छ।
कात्तिक ५, २०८३ बिहीबार १३:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।