पुटिन र ट्रम्पका दूतबीचको वार्तापछि वासिङ्टनतर्फ ईयूको नजर

पुटिन र ट्रम्पका दूतबीचको वार्तापछि वासिङ्टनतर्फ ईयूको नजर

एजेन्सी : युरोपेली युनियन (ईयू) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ।

विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताएका छन्। यो भेटवार्ता युक्रेनमा शान्ति स्थापनाका लागि कूटनीतिक पहल भइरहेका बेला भएको हो। 

यसअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विटकफबीच भएको बैठकमा युरोपेली युनियनका एक उच्च अधिकारी पनि सहभागी थिए।

ईयूकी प्रवक्ता पाउला पिन्होका अनुसार, छलफलको मुख्य उद्देश्य युक्रेन र रुसलाई एउटै वार्ताको टेबलमा ल्याउन सकिने सम्भावनाबारे खोजी गर्नु थियो। त्यसका लागि त्रिपक्षीय वा बहुपक्षीय वार्ताको आधार तयार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल भएको उनले बताए।

पिन्होले मङ्गलबारको बैठकमा मुख्यतः भूभागसम्बन्धी विवाद, सुरक्षा व्यवस्था र युद्धपछि युक्रेनको समृद्धिका विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डल फर्किए लगत्तै त्यसका प्रमुख निष्कर्ष र छलफलका विषयबारे विस्तृत जानकारी उपलब्ध हुने ईयूले अपेक्षा गरेको छ।

युक्रेन युद्ध अन्त्य गर्न भइरहेका कूटनीतिक प्रयासमा अमेरिका र युरोपेली राष्ट्रहरूबीच समन्वय महत्त्वपूर्ण मानिएको छ। सम्भावित शान्ति सम्झौतामा भू-भाग, सुरक्षा प्रत्याभूति र युद्धपछिको पुनर्निर्माणजस्ता विषय प्रमुख चुनौतीका रूपमा रहेका छन्।

कात्तिक ५, २०८३ बिहीबार ०७:४१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।