१२ वर्षको उमेरमा प्रोटिन पाउडर खानु ठीक कि बेठिक?

१२ वर्षको उमेरमा प्रोटिन पाउडर खानु ठीक कि बेठिक?

एजेन्सी : आजभोलि सामाजिक सञ्जालमा बडी-बिल्डिङ र स्वस्थ रहने उपायहरू छ्यापछ्याप्ती देखिन्छन्। यसैको प्रभावले गर्दा बालबालिका तथा किशोरकिशोरीहरूमा समेत ‘प्रोटिन पाउडर’ खाने मोह ह्वात्तै बढेको छ।

१२ वर्षका बेन आफ्ना साथीहरूले प्रोटिन पाउडर खाइरहेको देखेर आफू पनि खान जिद्दी गरिरहेका छन्। पाउडर खाए शरीर छिटो बढ्ने र बलियो भइने उनको बुझाइ छ। तर, स्वास्थ्य पत्रकारसमेत रहेकी उनकी आमाले भने यसलाई सीधै अस्वीकार गरिन्।

के १२/१३ वर्षका बालबालिकालाई साँच्चै प्रोटिन पाउडर चाहिन्छ त? यसबारे स्वास्थ्य विज्ञ तथा बालरोग विशेषज्ञहरूको धारणा स्पष्ट छ- ‘सन्तुलित खाना खाने बालबालिकालाई प्रोटिन पाउडरको कुनै आवश्यकता छैन।’

प्राकृतिक खाना नै काफी छ
वरिष्ठ पोषणविद् निकोला लुडलाम-रेनका अनुसार बढ्दो उमेरका किशोरकिशोरीहरूलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन घरकै सामान्य खानाबाट सजिलै प्राप्त हुन्छ।

दाल, गेडागुडी, अण्डा, दूध, दही, माछा र मासु प्रोटिनका उत्कृष्ट प्राकृतिक स्रोत हुन्।

‘केबल प्रोटिन शेक खाँदैमा शरीर बन्ने वा मांसपेशी (बाइसेप्स) फुल्ने होइन,’ लुडलाम-रेन भन्छिन्, ‘प्रोटिनको पछि लाग्दा शरीरलाई नभई नहुने अन्य पोषक तत्त्व जस्तै क्याल्सियम र आइरन छुट्न सक्छ।’

प्रोटिन पाउडर औषधिजस्तो कडा नियमनमा नबन्ने भएकाले बजारमा पाइने धेरैजसो पाउडरमा अत्यधिक चिनी, कृत्रिम रसायन र शरीरलाई हानि पुर्याउने उत्तेजक पदार्थ मिसाइएका हुन सक्छन्। यसले गर्दा पेट फुल्ने, ग्यास भरिने, पेट बाउँडिने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्।

धेरै प्रोटिनले मिर्गौला फेल हुन सक्ने जोखिम
लन्डनको चेल्सी एन्ड वेस्टमिन्स्टर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रम्निक माथुरका अनुसार किशोरावस्थामा शरीरको वृद्धि तीव्र हुने भए पनि आवश्यकताभन्दा बढी प्रोटिन खानु निकै खतरनाक हुन्छ।

‘हाम्रो शरीरले निश्चित मात्रामा मात्र प्रोटिन पचाउन सक्छ,’ डा. माथुर भन्छन्, ‘शरीरमा प्रोटिन धेरै भयो भने त्यसलाई फाल्ने काम मिर्गौला (किड्नी) र कलेजोले गर्नुपर्छ। धेरै भार पर्दा यी अङ्गहरू फेल हुन सक्छन्।’

डा. माथुरले आफ्नो अस्पतालको एउटा दुःखद घटना स्मरण गर्दै भने, ‘हाम्रो अस्पतालमा अत्यधिक प्रोटिन सेवनकै कारण मिर्गौलाले काम गर्न छोडेर एक बालकको ज्यान समेत गएको थियो।’

कति चाहिन्छ प्रोटिन ?
स्वास्थ्य मापदण्डअनुसार सामान्य व्यक्तिका लागि दैनिक शरीरको प्रति किलोग्राम तौल बराबर ०.७५ ग्राम प्रोटिन पर्याप्त हुन्छ।

उदाहरणका लागि, ४० किलो तौल भएको व्यक्तिका लागि दिनमा करिब ३० ग्राम प्रोटिन काफी हुन्छ, जुन दुईवटा अण्डा, एक कचौरा दाल र केही मात्रामा दूध वा दही खाँदैमा पूरा हुन्छ।

यदि १२ वर्षको बच्चाले नियमित सन्तुलित आहार (घरको खाना) खाइरहेको छ भने उसलाई कुनै पनि प्रोटिन सप्लिमेन्ट चाहिँदैन।

खेलकुदमा धेरै सक्रिय बालबालिकालाई पनि खानाको मात्रा बढाएरै प्रोटिन पुर्याउन सकिन्छ भने सामाजिक सञ्जाल वा साथीहरूको लहलहैमा लागेर बच्चाहरूलाई सप्लिमेन्ट खुवाउनु हुँदैन।

खानपानमा निकै समस्या भए वा सप्लिमेन्ट दिनै परे पहिले चिकित्सक वा पोषणविद्को सल्लाह अनिवार्य लिनुपर्छ।

असोज २९, २०८३ बिहीबार ०८:५१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।