टर्कीमा विपक्षी समर्थक टेलिभिजनको मुख्यालयमा प्रहरीको छापा, लाइभ ब्रोडकास्ट बन्द

टर्कीमा विपक्षी समर्थक टेलिभिजनको मुख्यालयमा प्रहरीको छापा, लाइभ ब्रोडकास्ट बन्द

एजेन्सी : टर्कीको प्रहरीले प्रमुख विपक्षी दल निकट मानिने टेलिभिजन च्यानल ‘हाल्क टिभी’को मुख्यालयमा छापा मारेको छ। प्रहरीको हस्तक्षेपपछि टेलिभिजनको लाइभ ब्रोडकास्ट रोकिएको छ।

च्यानलका अनुसार बुधबार बिहान इस्तानबुलस्थित मुख्यालयमा कर्मचारीहरूलाई प्रवेश गर्न रोक लगाइएको थियो। त्यसलगत्तै च्यानल सञ्चालनका लागि सरकारले नयाँ व्यवस्थापक नियुक्त गरेको छ।

टर्कीका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार वित्तीय अपराध अनुसन्धान गर्ने प्रहरी टोलीले टेलिभिजनको कार्यालयमा खानतलासी गरिरहेको छ।

टेलिभिजनका मालिकसँग सम्बन्धित आर्थिक अनियमितताको अनुसन्धानका क्रममा १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ।

हाल्क टिभीलाई टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ निकट मानिन्छ। यो च्यानलले राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनको सत्तारूढ ‘एके पार्टी’को नीति तथा कार्यशैलीको कडा आलोचना गर्दै आएको छ।

टर्कीमा पछिल्लो समय विपक्षी आवाजमाथि राज्य संयन्त्र प्रयोग गरेर दमन गरिएको आरोप लाग्दै आएको छ।

गत मे महिनामा अदालतले एक आदेशमार्फत मुख्य विपक्षी दल सीएचपीको नेतृत्वलाई पार्टी सञ्चालनबाट हटाएको थियो। विपक्षीहरूले यसलाई एर्दोगानले सत्तामा आफ्नो पकड थप बलियो बनाउन चालेको कदम भनेका थिए।

यसैबीच, राष्ट्रपति एर्दोगानका सबैभन्दा प्रमुख राजनीतिक प्रतिस्पर्धी मानिएका इस्तानबुलका लोकप्रिय मेयर एक्रेम इमामोग्लु पनि भ्रष्टाचारको आरोपमा विगत एक वर्षभन्दा बढी समयदेखि जेलमा छन्।

मेयर इमामोग्लुले भने आफूमाथि लगाइएका सबै आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको भन्दै अस्वीकार गर्दै आएका छन्।

असोज २८, २०८३ बुधबार १३:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।