ओपनएआईको अफिसमा सिक्रेट रेकर्डर राखेको आरोपमा साउदी नागरिकविरुद्ध मुद्दा दायर

ओपनएआईको अफिसमा सिक्रेट रेकर्डर राखेको आरोपमा साउदी नागरिकविरुद्ध मुद्दा दायर

एजेन्सी : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘ओपनएआई’को अफिसमा गोप्य रूपमा अडियो रेकर्डिङ यन्त्र राखेको आरोपमा एक पूर्वइन्जिनियरविरुद्ध अमेरिकामा मुद्दा दायर गरिएको छ।

अमेरिकी संघीय अभियोजकहरूका अनुसार साउदी नागरिक अब्दुलराहमान अल्फोजानविरुद्ध कम्पनीको गोप्य कुराकानी सुन्न र रेकर्ड गर्न यन्त्र जडान गरेको अभियोग लगाइएको हो। उनी ओपनएआईमा इन्जिनियरका रूपमा कार्यरत थिए।

‘ट्वाइलेट पेपर’ले बेरेर टिभीको पछाडि लुकाइएको थियो रेकर्डर
अनुसन्धान अधिकारीहरूका अनुसार सान फ्रान्सिस्कोस्थित ओपनएआईको मुख्यालयमा उच्च अधिकारीहरू बस्ने बैठक कोठाको टिभी पछाडि युएसबीपोर्टमा उक्त यन्त्र जोडिएको थियो। कसैले शंका नगरोस् भनेर उक्त यन्त्रलाई ट्वाइलेट पेपरले बेरिएको थियो।

उक्त यन्त्र जडान गरिएको दुई दिनपछि गत सेप्टेम्बर ३० मा कर्मचारीहरूले फेला पारेका थिए। त्यसपछि कम्पनीले तुरुन्तै अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) लाई खबर गरेको थियो।

आफ्नै एआई मोडेल प्रयोग गरेर पत्ता लगायो ओपनएआईले
लोकप्रिय च्याटबट ‘च्याटजिपिटी’ निर्माता ओपनएआईले आफ्नै एआई मोडेलहरूको प्रयोग गरेर उक्त यन्त्र कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने पत्ता लगाएको जानकारी दिएको छ। अनुसन्धानबाट आफ्नै कर्मचारी संलग्न रहेको खुलेपछि कम्पनीले उनलाई जागिरबाट बर्खास्त गरिसकेको छ।

कम्पनीले यस घटनाबाट आफ्ना कुनै पनि महत्त्वपूर्ण कोड, एआई मोडेल वा प्रयोगकर्ताका गोप्य विवरणहरू चोरी नभएको स्पष्ट पारेको छ।

च्याटबटलाई सोधेरै बनाएका थिए योजना
एफबीआईका अनुसार अल्फोजानको उद्देश्य कम्पनीका नयाँ एआई उत्पादन र संवेदनशील योजनाका गोप्य कुराकानी चोर्नु थियो।

अचम्मको कुरा, उनले गोप्य अडियो रेकर्डर कसरी बनाउने, वाइफाइ कसरी कनेक्ट गर्ने, कसरी लुकाउने र मेमोरी कार्डलाई कसरी गोप्य राख्ने भन्ने तरिकाहरू पनि च्याटबटकै मद्दत लिएर खोजेका थिए।

यसैगरी अक्टोबर ५ मा उनी उक्त यन्त्र जाँच गर्न फेरि सोही कोठामा गएको सीसीटीभी फुटेजमा देखिएको छ।

सोही दिन उनले कार्यालयको अर्को कुनामा एउटा झोला छुटाएका थिए। सुरक्षाकर्मीले झोला जाँच गर्दा उनको परिचयपत्र (आईडी), वालेट र टिभी पछाडि फेला परेजस्तै अर्को रेकर्डिङ यन्त्र समेत फेला पारेका थिए।

सन् २०२५ को जुलाईदेखि ओपनएआईमा काम गर्दै आएका अल्फोजानलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ।

अदालतबाट उनी दोषी ठहरिएमा उनलाई ५ वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार अमेरिकी डलर (करिब ३ करोड ३५ लाख नेपाली रुपैयाँ) सम्म जरिवाना हुन सक्नेछ।

असोज २८, २०८३ बुधबार ०७:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।