अमेरिकाले चिपमाथि प्रतिबन्ध लगाएपछि चीनले मरुभूमिमै ठड्याउँदैछ विशाल ‘एआई डाटा हब’

अमेरिकाले चिपमाथि प्रतिबन्ध लगाएपछि चीनले मरुभूमिमै ठड्याउँदैछ विशाल ‘एआई डाटा हब’

एजेन्सी : चीनको गोबी मरुभूमिको छेउमा रहेको ‘उलानकाब’ शहर कुनै समय मकै र सूर्यमुखी खेतीका लागि परिचित थियो।

तर, अहिले यहाँको दृश्य फेरिएको छ। खुला फाँटहरूमा लहरै विशाल भवनहरू ठडिएका छन्, जहाँ हुवावे, क्वाईसो र भीनेट जस्ता चीनका दिग्गज प्रविधि कम्पनीका नामहरू चम्किरहेका छन्।

यो ठाउँ तीव्र गतिमा चीनको सबैभन्दा ठूलो ‘एआई डाटा हब’ बन्दैछ। २० लाखभन्दा कम जनसङ्ख्या भएको यो शहरमा मात्रै झन्डै ९० वटा डाटा सेन्टर निर्माण गर्ने योजना छ। यो पूर्वाधार एआईको क्षेत्रमा अमेरिकालाई चुनौती दिने मुख्य आधार बनिरहेको छ।

अमेरिका अगाडि, तर चीनको आफ्नै शक्ति
स्ट्यानफोर्ड विश्वविद्यालयको अध्ययन अनुसार अमेरिकासँग चीनको तुलनामा करिब १० गुणा बढी एआई डाटा सेन्टर र अत्यधिक ‘कम्प्युटिङ पावर’ छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, अमेरिकासँग एआई विकासका लागि चाहिने विश्वकै सबैभन्दा शक्तिशाली चिप्स (जस्तै : एनभिडिया र एएमडी) को सहज पहुँच छ। वासिङ्टनले लगाएको कडा निर्यात प्रतिबन्धका कारण चीनलाई उन्नत चिप्स आयात गर्न निकै कठिन छ।

चिप्स र पूँजीमा पछाडि परे पनि चीनले यसको विकल्प अर्को अस्त्रबाट खोजिरहेको छ- सस्तो जमिन, तीव्र निर्माण गति र प्रचुर मात्रामा ग्रीन इनर्जी।

जहाँ अमेरिकामा एआई डाटा सेन्टर बनाउँदा अत्यधिक बिजुली र पानी खपत हुने भन्दै स्थानीय बासिन्दाको चर्को विरोध हुने गर्छ, चीनमा भने त्यसको ठीक विपरीत सरकारी योजनालाई पूर्ण रूपमा अघि बढाइएको छ।

चिप्सको अभाव ऊर्जाले पूर्ति गर्ने प्रयास
एआई डाटा सेन्टरहरूलाई चल्न अत्यधिक ऊर्जा आवश्यक पर्छ। अमेरिकाको पुरानो विद्युत् प्रसारण प्रणालीले यस्तो माग धान्न संघर्ष गरिरहेका बेला चीनले पछिल्ला वर्षहरूमा ठूलो मात्रामा सौर्य र वायु ऊर्जा उत्पादन गरिरहेको छ।

चीनले सन् २०२२ देखि ‘पूर्वी क्षेत्रको डाटा, पश्चिमी क्षेत्रको कम्प्युट’नामक राष्ट्रिय रणनीति लागू गरेको छ। जसअनुसार जनसङ्ख्या धेरै भएको पूर्वी क्षेत्रका डाटालाई वायु र घाम प्रचुर मात्रामा पाइने पश्चिमी र ग्रामीण भेगमा प्रोसेसिङ गरिन्छ।

हुवावेजस्ता चिनियाँ कम्पनीहरूले अमेरिकी उच्च प्रविधियुक्त चिप्स नपाएपछि कम शक्तिशाली घरेलु चिप्सलाई एकै ठाउँमा धेरै सङ्ख्यामा जोडेर कम्प्युटिङ पावर निकालिरहेका छन्। यसरी काम गर्दा अत्यधिक बिजुली खपत हुन्छ, जुन ऊर्जा भित्री मङ्गोलियाका वायु र सौर्य प्लान्टहरूले सहजै आपूर्ति गरिरहेका छन्।

८० प्रतिशत वायु ऊर्जा र ‘पानीबिनाको कुलिङ’
उलानकाबमा निर्माणाधीन ‘एनभिजन ग्यालेक्सी क्याम्पस’ यसको ज्वलन्त उदाहरण हो। २० वटा फुटबल मैदानभन्दा ठूलो क्षेत्रफलमा फैलिएको यो केन्द्र विश्वकै ठूला डाटा सेन्टरमध्ये एक हुनेछ।

यस केन्द्रका महाप्रबन्धक रिक्की झेङका अनुसार यस केन्द्रलाई चाहिने ८० प्रतिशतभन्दा बढी बिजुली कम्पनीकै आफ्नै वायु ऊर्जा फार्मबाट सिधै आउनेछ, जसले गर्दा सरकारी ग्रिडमा दबाब पर्दैन।

त्यस्तै, अमेरिकामा डाटा सेन्टरहरू चिस्याउन (कुलिङ गर्न) लाखौं लिटर पानी खर्च हुने भएकाले विवाद भइरहेको बेला उलानकाबको चिसो मौसमले प्राकृतिक रूपमै मद्दत पुर्याएको छ। साथै, यहाँ पानीको साटो औद्योगिक अल्कोहल प्रयोग गरिने ‘जिरो-वाटर’ प्रणाली जडान गरिएको छ।

यहाँबाट तीव्र गतिको ‘अप्टिकल फाइबर’ मार्फत करिब ३२० किलोमिटर टाढा रहेको राजधानी बेइजिङसम्म निमेषभरमै डाटा आदानप्रदान गर्न सकिन्छ।

चीनले आगामी पाँच वर्षमा कम्प्युटिङ पूर्वाधारसहित सूचना प्रविधिमा ५६० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ। राष्ट्रपति सी चिनफिङले एआईलाई चीनको आधुनिकीकरणको ‘प्रमुख आधारस्तम्भ’का रूपमा घोषणा गरेका छन्।

चिप्स अभावको धक्का सहँदै भए पनि बेइजिङले मरुभूमिको यो चिसो र हावा चल्ने क्षेत्रलाई भविष्यको ‘एआई महाशक्ति’ बन्ने रणनीतिक किल्लाका रूपमा तीव्र गतिमा उभ्याइरहेको छ।

असोज २७, २०८३ मंगलबार १४:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।