पाइलट इन्डोनेसियाली भएको भन्दै इजरायलले कार्गो विमानलाई अवतरण गर्न दिएन
एजेन्सी : इथियोपियन एयरलाइन्सको एउटा कार्गो विमानलाई इजरायलले आफ्नो भूमिमा अवतरण गर्न अनुमति नदिएपछि विमान बिच बाटोबाटै फर्किएको छ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट उडेको उक्त विमानका मुख्य पाइलट इन्डोनेसियाली नागरिक भएका कारण इजरायलले अवतरणमा रोक लगाएको हो।
इजरायल र इन्डोनेसियाबीच कुनै कूटनीतिक सम्बन्ध छैन। इजराइली सञ्चारमाध्यमका अनुसार यो घटना आइतबार अबेर रातिको हो।
विमान अदिस अबाबाबाट उडान भरिसकेपछि मात्र एयरलाइन्सले चालक दलका सदस्यहरूको विवरण इजरायललाई पठाएको थियो। जब इजरायलको सुरक्षा निकायले पाइलट इन्डोनेसियाली भएको थाहा पायो, विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न अनुमति दिएन।
उडान भरेको केही समयमै फर्कनुपरेका कारण विमानमा इन्धन बढी थियो। अवतरणका लागि आवश्यक तौल घटाउन पाइलटले समुद्रमाथि इन्धन फ्याँकेर विमानलाई पुनः अदिस अबाबामै सुरक्षित अवतरण गराएका थिए।
त्यसपछि पाइलट परिवर्तन गरी इजरायलले अनुमति दिएको नयाँ पाइलट राखेर विमानलाई पुनः गन्तव्यतर्फ पठाइएको थियो।
किन कडा बनाइयो नियम ?
गत सेप्टेम्बर ३० मा ‘फ्लाईदुबई’को एक उडानमा भएको घटनापछि इजरायलले हवाई सुरक्षा नियम निकै कडा बनाएको छ।
दुबईबाट तेल अभिभ जाँदै गरेको उक्त उडानमा ओमानका एक पाइलटले भारतीय क्याप्टेन स्मित मच्छरमाथि ककपिटभित्रै आकस्मिक प्रयोजनका लागि राखिएको सानो बञ्चरोले आक्रमण गरेका थिए।
ती ओमानी पाइलटले विमानलाई इजरायलको बेन गुरियन विमानस्थलमा खसाल्ने प्रयास गरेका थिए। तर, अन्य यात्रु र कर्मचारीले उनलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा कूटनीतिक सम्बन्ध नभएका र शत्रु देशका सयौँ चालक दलका सदस्यहरू यसअघि पनि सजिलै इजरायल आउजाउ गरिरहेको तथ्य खुलेको थियो।
त्यसपछि इजरायलको यातायात मन्त्रालयले सुरक्षा नियम कडा पार्दै आफूसँग कूटनीतिक सम्बन्ध नभएका ११ देशका पाइलट तथा चालक दलका सदस्यहरूलाई इजरायल आउने उडानमा प्रतिबन्ध लगाएको छ।
यी देशहरूमा इन्डोनेसियासहित अफगानिस्तान, अल्जेरिया, इरान, इराक, कुवेत, नाइजर, कतार, साउदी अरब, सोमालिया र भेनेजुएला रहेका छन्। यो नियम दोहोरो नागरिकता भएका व्यक्तिहरूमा पनि लागू हुने इजरायलले प्रस्ट पारेको छ।
हाल इजरायलको मुस्लिम बाहुल्य भएका करिब ३० देशसँग कूटनीतिक सम्बन्ध भए पनि अरब जगत्मा भने इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र मोरक्को गरी ५ वटा देशसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध रहेको छ।
असोज २७, २०८३ मंगलबार १२:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।