रुसलाई नेटोको सैन्य चेतावनी : आक्रमण भए पराजित गर्न तयार छौँ

रुसलाई नेटोको सैन्य चेतावनी : आक्रमण भए पराजित गर्न तयार छौँ

एजेन्सी : रुसबाट बढ्दै गएको सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्।

नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

युक्रेनका समर्थक राष्ट्रहरूविरुद्ध रूसले सञ्चालन गरिरहेको भनिएको ‘हाइब्रिड’ तोडफोड र हस्तक्षेपका गतिविधिहरू रोक्न मस्कोलाई कडा सन्देश दिने उद्देश्यले सर्वोच्च सैन्य कमाण्डरको यो कदम आएको हो।

पछिल्ला महिनामा रुसले यस्ता गतिविधि तीव्र बनाइरहेको आशंका बढेको छ। जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको हो। पश्चिमी अधिकारीहरूले युक्रेनका समर्थक देशविरुद्ध मस्कोले तोडफोड र हस्तक्षेपजस्ता गतिविधि बढाएको आरोप लगाएका छन्।

अमेरिकी जनरलका प्रवक्ता कर्णेल मार्टिन ओ'डोनेलले गत साता उनको रणनीतिक अवधारणाबारे जानकारी दिएका थिए। उनले गत साता भनेका थिए, "सर्वोच्च मित्रशक्ति कमाण्डरको 'जीतको सिद्धान्त' सरल छ: नेटोको वर्चस्व र फाइदालाई कायमै राख्नु, जुन गठबन्धनको प्रतिरोध र रक्षा योजनामा आधारित छ।"

रुसको सम्भावित आक्रमण रोक्न नेटोले आफ्नो रक्षा योजना गोप्य राख्दै आएको छ। नयाँ सम्बोधनबाट रणनीतिका विस्तृत विवरण सार्वजनिक हुने सम्भावना कम भए पनि यसले रुसलाई चेतावनी दिनुका साथै पूर्वी सदस्य राष्ट्रलाई आश्वस्त पार्ने अपेक्षा गरिएको छ।

नेटोले आफू एक रक्षात्मक गठबन्धन मात्र रहेको र रूसमाथि आक्रमण गर्ने कुनै मनसाय नरहेको दोहोर्याउँदै आएको छ।

नेटोका नागरिक प्रमुख (महासचिव) मार्क रुटेले सदस्य राष्ट्रहरूलाई 'शान्त रहन, अघि बढ्न र युक्रेनलाई सहयोग जारी राख्न' आग्रह गरेका छन्। "हामी रूसको विषयमा भ्रममा पर्नु हुँदैन, तर उनीहरूलाई थाहा छ कि हामी उनीहरूभन्दा बलियो छौँ," रुटेले गत महिना भनेका थिए।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनाथ आफ्ना सेनाको सङ्ख्या र भूमिकाबारे पुनरावलोकन गरिरहेको छ। अमेरिकी सेना कटौती हुन सक्ने चिन्ताबिच युरोपेली देशहरूले आफ्ना सैन्य क्षमता सुदृढ बनाउन प्रयास तीव्र पारेका छन्। पुनरावलोकनको नतिजा वर्षको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

असोज २६, २०८३ सोमबार १६:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।