ट्रम्पले रुस-युक्रेनबीच ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गरेपछि जेलेन्स्कीले भने - 'मेरा लागि यो नयाँ खबर हो'

ट्रम्पले रुस-युक्रेनबीच ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गरेपछि जेलेन्स्कीले भने - 'मेरा लागि यो नयाँ खबर हो'

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गरेको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यो घोषणा आफ्ना लागि 'नयाँ खबर' भएको बताएका छन्।  

युक्रेनका लागि नयाँ राष्ट्रपति चयन गर्नुपर्ने अभिव्यक्ति दिएको एक दिनपछि ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै दुवै देश तत्काल प्रभावकारी हुने गरी ऊर्जा पूर्वाधारहरूमा आक्रमण नगर्न सहमत भएको दाबी गरेका हुन्।   

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, "तत्काल प्रभावकारी हुने गरी, रुस र युक्रेनबीचको युद्धमा ‘ऊर्जा युद्धविराम’ भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई नतोड्नुहोला! यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद।"   

यद्यपि, ट्रम्पले यो युद्धविराम कसरी कार्यान्वयन हुन्छ वा कति समयसम्म लागू हुने भन्नेबारे स्पष्ट पारेका छैनन्। यसबारे ह्वाइट हाउस वा क्रेमलिनका तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

‘रुसीहरू सहमत भए युक्रेन पनि तयार छ’
ट्रम्पको घोषणाबारे जेलेन्स्कीले समाचार संस्था एक्सियोससँग कुरा गर्दै आफ्ना लागि यो नयाँ खबर भएको बताएका छन्। यद्यपि, उनले ऊर्जा युद्धविरामका लागि रुस सहमत युक्रेन पनि स्वीकार्न तयार रहेको बताएका छन्। 

जेलेन्स्कीले भने, "यदि रुसीहरू ऊर्जा युद्धविरामका लागि सहमत हुन्छन् भने युक्रेन पनि सहमत हुनेछ। यदि राष्ट्रपति ट्रम्पले पुटिनसँग यो वार्ता गर्नुभएको हो भने, कृपया हामीलाई युद्धविराम कहिलेदेखि सुरु हुन्छ भनिदिनुहोस्। हामी तयार छौँ र यसलाई स्वीकार गर्नेछौँ।" 

युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समा छुट्टै पोस्ट गर्दै ट्रम्पले घोषणा गरेको युद्धविरामबारे क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, नेटोका महासचिव मार्क रुटे र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब्ससँग कुराकानी गरेको जानकारी दिए।

उनले लेखेका छन्, "युक्रेन युद्धविरामको समर्थन गर्दछ, र रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण छ। हामी अमेरिकी पक्षबाट थप विवरणको प्रतीक्षा गरिरहेका छौँ। युक्रेनले सधैँ तनाव कम गर्ने, जीवनको रक्षा गर्ने र युद्ध अन्त्य गरी स्थायी शान्तिको ग्यारेन्टी गर्ने निर्णयहरूलाई पूर्ण रूपमा समर्थन गर्दछ।"

घोषणाको केही घण्टामै किभमा आक्रमण
ट्रम्पले ऊर्जा युद्धविराम घोषणा गरेको केही घण्टापछि रुसले किभस्थितऊर्जा पूर्वाधारमा पुनः आक्रमण गरेको जेलेन्स्कीले दाबी गरेका छन्। "रुसीहरूले किभमा 'शाहेद' ड्रोनमार्फत एक पावर प्लान्टमा आक्रमण गरे," जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्। त्यसपछि खार्किभ क्षेत्रमा रहेका अन्य ऊर्जा पूर्वाधारमा पनि आक्रमण भएको उनले बताएका छन्।

उनले यी सबै घटना अमेरिकी राष्ट्रपतिले ऊर्जा युद्धविरामबारे आफ्नो वक्तव्य दिएपछि भएको समेत दाबी गरेका छन्।

ट्रम्पको अभिव्यक्तिप्रति जेलेन्स्कीको असन्तुष्टि
ट्रम्पको युद्धविरामसम्बन्धी दाबी आउनुअघि एबीसी न्युजमा प्रसारित अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई महिनाको युद्धविरामका लागि आग्रह गर्न भनेका थिए।

ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने अभिव्यक्ति दिएको समयमा जेलेन्स्कीको यस्तो आग्रह आएको हो। युक्रेनमा सन् २०१९ यता राष्ट्रपतीय निर्वाचन भएको छैन। 

रुससँग शान्ति सम्झौता गर्न जेलेन्स्की असफल भएको आरोप लगाउँदै ट्रम्पले नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए। रुसले हालै अमेरिकामा डिजेल निर्यात गर्ने सम्झौता गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पत्रकारहरूसँग भनेका थिए, "म सुझाव दिन्छु कि उनीहरूले सम्झौता गर्न सक्ने नयाँ नेता चयन गरून्। कुनै कारणवश (जेलेन्स्कीले) कहिल्यै सम्झौता गर्दैनन्।"

यसको जवाफमा 'एबीसी न्यूज'को 'दिस विक' कार्यक्रममा बोल्दै जेलेन्स्कीले भने, "सबैभन्दा पहिले, राष्ट्रपति ट्रम्पप्रति पूर्ण सम्मानसहित भन्न चाहन्छु-कसलाई नेता चयन गर्ने भन्ने निर्णय हाम्रो समाज र हाम्रा जनताको हातमा छ।"

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनको नेतृत्व परिवर्तन होस् भन्ने चाहेको उल्लेख गर्दै युद्धको समयमा चुनाव गराउनु कठिन हुने र त्यसका लागि सुरक्षा पूर्वाधार आवश्यक पर्ने बताए।

जेलेन्स्कीले थपे, "हामीले यो युद्ध जतिसक्दो चाँडो रोक्न आवश्यक छ। पुटिनलाई रोक्न हामी अमेरिका र युरोपका हाम्रा सहयोगीहरूमाथि भर परेका छौँ। जुनसुकै अवस्थामा पनि, हामी आफ्नो रक्षा गर्नेछौँ अन्यथा हामीले हाम्रो जीवन, घर, स्वतन्त्रता, स्वाधीनता र युक्रेन गुमाउनेछौँ। हामी यसलाई गुमाउन सक्दैनौँ।"

युक्रेनको सर्त : रुसले आक्रमण रोके तेल प्रशोधन केन्द्रमा प्रहार रोक्ने
यसअघि आइतबार नै जेलेन्स्कीले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने हो भने युक्रेनले पनि रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउन रोक्ने बताएका थिए। उनले तनाव कम गर्ने कुनै पनि कदम पारस्परिक र वास्तविक ग्यारेन्टीमा आधारित हुनुपर्ने समेत बताए।

यसैबीच, सप्ताहन्तमा ट्रम्पले रुससँग रुसी डिजेल किन्ने सम्झौता गरेपछि मस्को र किभबीचको तनाव थप चर्किएको छ। उक्त सम्झौताअन्तर्गत प्रतिबन्धमा सहुलियत पाउने बदलामा रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउनेछ।

जेलेन्स्कीले उक्त सम्झौतालाई ‘कमजोर निर्णय’ भन्दै यसले रुसलाई युक्रेनमाथि थप आक्रमण गर्ने सम्भावना बढाउने बताएका थिए। तर, ट्रम्पले भने बढ्दो इन्धन मूल्यका लागि युक्रेनलाई जिम्मेवार मान्दै आएका छन्। 

असोज २६, २०८३ सोमबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।