ट्रम्प र पुटिनबीच डिजेल सम्झौता भएको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण : ३ बालबालिकासहित ८ जनाको मृत्यु

ट्रम्प र पुटिनबीच डिजेल सम्झौता भएको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण : ३ बालबालिकासहित ८ जनाको मृत्यु

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल आपूर्तिसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको भोलिपल्टै रुसले युक्रेनको जापोरिजिया क्षेत्रमा हवाई आक्रमण गरेको छ। शनिबार आवासीय भवनहरूलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा परी तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

क्षेत्रीय रक्षा परिषद्का सह-अध्यक्ष इभान फेडोरोभका अनुसार रुसी हवाई बमबारीका कारण ठूलो जनधनको क्षति भएको छ। रुस-युक्रेन युद्ध सुरु भएको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै देशका सेनाबीच युद्धमोर्चामा खासै प्रगति हुन सकेको छैन। तर, लामो दूरीका हवाई आक्रमण भने जारी छन्। पछिल्लो चार दिनमा मात्रै रुसी बमबारीमा परी ५५ जनाभन्दा बढी युक्रेनी नागरिकले ज्यान गुमाइसकेका छन्

ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता गरेको घोषणा गरेको भोलिपल्टै पछिल्ला आक्रमण भएका हुन्। यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तन हो। साथै, अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा रुसबाट ठूलो परिमाणमा डिजेल खरिद गर्ने सम्झौता भएको घोषणा गरेका थिए। सम्झौता अनुसार रुसले तत्कालै ३ लाख टन डिजेल अमेरिकालाई उपलब्ध गराउनेछ। त्यसपछि नोभेम्बरमा थप ५ लाख टन, त्यसलगत्तै १० लाख टन र छोटो अवधिभित्रै थप ३० लाख टन डिजेल आपूर्ति गरिनेछ।

ट्रम्पको यो घोषणाले गत महिना उनले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्धसम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ। उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पुर्याउने रुसी तेल तथा ग्यासको आम्दानीमा रोक लगाउनु थियो।

सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आतङ्क र विश्वासघातबाट दिने बताएका छन्। उनले यस्तो सम्झौताले युद्धमा रुसको लगानी बढाउने र युद्ध लम्ब्याउन सहयोग पुर्याउने चेतावनी दिएका छ्न्। 

“यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ”, जेलेन्स्कीले भने। वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा उनले यसलाई “बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय” भन्दै आलोचना गरेका छन्।

युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीहरूसँग भेटवार्ता गरिरहेका बेला ट्रम्पले डिजेल सम्झौताको घोषणा गरेका थिए। 

“मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ। यो पक्कै पनि उचित होइन। साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन”, जेलेन्स्कीले भने। 

असोज २४, २०८३ शनिबार १७:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।