मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

एजेन्सी : मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ। मानव अधिकारसम्बन्धी गैरसरकारी संस्था ‘आर्टिकल १९’ का अनुसार यस वर्ष मेक्सिकोमा हत्या गरिएका पत्रकारको सङ्ख्या नौ पुगेको छ।

बाउन्न हजारभन्दा बढी फलोअर्स रहेको समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको दक्षिणी राज्य ओआक्साकामा हत्या गरिएको हो।

राज्यका अभियोजकका अनुसार, एक सशस्त्र समूहले हुएस्का मान्जानो र अन्य दुई जनामाथि गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको हो।

हुएस्का मान्जानोले सञ्चालन गरेको वेबसाइटले उनी बसोबास गर्ने सहर सान्टियागो पिनोटेपा नासिओनालका राजनीतिक तथा स्थानीय विषयमा समाचार प्रकाशन गर्दै आएको थियो। पत्रकारिताका अतिरिक्त उनी ट्याक्सी चालकका रूपमा पनि काम गर्थे।

मानव अधिकार संस्था ‘आर्टिकल १९’ ले घटनाको अनुसन्धान गर्दा उनको पत्रकारितासम्बन्धी कामलाई प्राथमिकतामा राख्न अभियोजकको कार्यालयसँग माग गरेको छ। संस्थाले सामाजिक सञ्जाल एक्समार्फत पत्रकारको हत्याको निष्पक्ष अनुसन्धान गर्नसमेत आग्रह गरेको छ।

पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताका दृष्टिले मेक्सिको विश्वकै जोखिमपूर्ण देशमध्ये एक मानिन्छ। ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ का अनुसार सन् १९९४ यता मेक्सिकोमा १५० भन्दा बढी सञ्चारकर्मीको हत्या भइसकेको छ।

पत्रकारमाथि हुने हिंसा र हत्याका घटनाले देशमा स्वतन्त्र पत्रकारिता तथा स्थानीय मुद्दाको रिपोर्टिङमा गम्भीर चुनौती खडा गर्दै आएका छन्।

असोज २४, २०८३ शनिबार १६:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।