रुसी डिजेल खरिद गर्ने ट्रम्पको घोषणा, पुटिनलाई युद्ध लम्ब्याउन सहयोग गरेको जेलेन्स्कीको आरोप

रुसी डिजेल खरिद गर्ने ट्रम्पको घोषणा, पुटिनलाई युद्ध लम्ब्याउन सहयोग गरेको जेलेन्स्कीको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल आयात गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको आलोचना गरेका छन्। 

जेलेन्स्कीले यो सम्झौता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि एउटा उपहार भएको र यसले युद्ध अन्त्य गर्नुको सट्टा अझ लम्ब्याउन लगानी पुर्याउने बताएका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै रुसले अमेरिकालाई डिजेल उपलब्ध गराएबापत युक्रेनमाथि थप आतंक फैलाउने चेतावनी दिएका छन्। उनले भनेका छन्, “रुसले यसको बदलामा थप आतंक दिनेछ।”

उनले युक्रेनको जीवन र जनताको रक्षाका लागि अमेरिकाबाट निष्पक्ष समर्थनको अपेक्षा गरेको पनि बताएका छन्। साथै, अमेरिकाले रुससँग बलियो ढंगले संवाद गर्नुपर्ने उनको भनाइ छ।

“हामी आफ्नो जीवन र युक्रेनी जनताको रक्षाका लागि अमेरिकाको निष्पक्ष समर्थनमा भरोसा गर्छौं। साथै, अमेरिकाले रुससँग त्यसअनुरूप बलियो संवाद गर्ने अपेक्षा गर्छौं। त्यो संवाद बलियो हुनुपर्छ, कमजोर होइन,” जेलेन्स्कीले लेखेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसी राष्ट्रपति पुटिनले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउन सहमति जनाएको घोषणा गरेका थिए। उनका अनुसार उक्त डिजेल अमेरिकी तथा विश्व बजारमा आपूर्ति गरिनेछ।

ट्रम्पले नोभेम्बरमा थप पाँच लाख टन डिजेल उपलब्ध गराइने र त्यसपछि अर्को १० लाख टन आपूर्ति गरिने बताएका छन्। उनले रुसी रिफाइनरीहरूको अवस्था हेरेर छोटो समयभित्रै थप ३० लाख टन रुसी डिजेलसमेत उपलब्ध गराइने उल्लेख गरेका छन्। यद्यपि, ती रिफाइनरीहरूमा पछिल्लो समय युक्रेनले आक्रमण गर्दै आएको छ।

ट्रम्पको घोषणापछि अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल निर्यातमाथिका प्रतिबन्धहरू अप्रिल ७ सम्मका लागि निलम्बन गरेको छ। तर, अमेरिकी बैंकहरूमा रहेका रुसी सम्पत्तिजस्ता अन्य सम्पत्तिमाथिको रोक भने कायमै रहनेछ।

ट्रम्पले अमेरिकालाई डिजेल उपलब्ध गराएबापत रूसले के प्राप्त गर्नेछ भन्ने विषयमा विस्तृत जानकारी दिएका छैनन्।

रुसी राष्ट्रपति पुटिनले शुक्रबार ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाबारे कुराकानी गरेको बताएका छन्। उनले रुस अमेरिकी बजार तथा विश्वका अन्य बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको उल्लेख गरेका छन्।  यद्यपि उनले निश्चित परिमाण भने खुलाएका छैनन्।

“रुसी पक्षले अमेरिकी बजार र समग्र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न आफ्नो तत्परता पुष्टि गरेको छ,” पुटिनको भनाइ उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा उल्लेख छ।

यसैबीच, पुटिनका विशेष दूत किरिल दिमित्रिएभले सामाजिक सञ्जालमार्फत अमेरिका–रुस ऊर्जा सहकार्यको स्वागत गरेका छन्। उनले यस्तो सहकार्यले विश्वलाई फाइदा पुग्ने बताएका छन्।

रुसले यसै वर्षको सुरुवातमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसैले अहिले अमेरिकासहित विश्व बजारमा आपूर्ति गर्ने प्रस्तावलाई रुसको ऊर्जा नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

यसैबीच, बेलायती सरकारका प्रवक्ताले आफ्नो अडान स्पष्ट रहेको बताउँदै युक्रेनको रक्षा र दिगो शान्तिका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गरिरहने जनाएका छन्। बेलायतले रुसमाथि अझ कडा प्रतिबन्ध कायम राख्ने र पुटिनको आक्रामक कदमको मूल्य बढाउने प्रतिबद्धता जनाएको छ।

विश्लेषकहरूले भने रुसले उल्लेखित परिमाणमा डिजेल आपूर्ति गर्न सक्छ कि सक्दैन र यसले अमेरिकी उपभोक्ताले तिर्नुपर्ने इन्धनको मूल्यमा कति प्रभाव पार्छ भन्ने विषयमा विश्लेषकहरूले प्रश्न उठाएका छन्।​​​​​​​

क्विल्टर चेभियोटका लगानी रणनीतिकार टिम आर्मिटेजका अनुसार ट्रम्पले उल्लेख गरेको पहिलो चरणमा उपलब्ध गराउने भनिएको तीन लाख टन डिजेल करिब २२ लाख ५० हजार ब्यारेल बराबर हुने अनुमान छ। तर, अमेरिकामा दैनिक डिजेल खपत करिब ३८ लाख ब्यारेल रहेको उनले बताएका छन्। यसकारण पहिलो चरणको आपूर्तिले अमेरिकी पेट्रोल पम्पमा बिक्री हुने डिजेलको मूल्यमा उल्लेखनीय परिवर्तन ल्याउने सम्भावना कम रहेको उनको विश्लेषण छ।

“पहिलो चरणको परिमाणले अमेरिकामा डिजेलको मूल्यमा खासै भौतिक प्रभाव पार्ने देखिँदैन,” आर्मिटेजले बताएका छन्।

उनका अनुसार त्यसपछि थप दुई चरणमा डिजेल आपूर्ति गर्ने भनिए पनि आगामी मध्यावधि निर्वाचनअघि मुद्रास्फीति कम गर्ने प्रयासमा ट्रम्पले केही हतारमा निर्णय गरेको देखिन्छ।

फेब्रुअरीमा सुरु भएको इरान युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य बढेपछि ट्रम्प प्रशासनमाथि इन्धनको मूल्य घटाउने ठूलो दबाब परेको छ। अमेरिकामा डिजेलको औसत मूल्य हाल प्रति ग्यालन ६.२८ डलर छ, जुन सेप्टेम्बरको अन्त्यमा कायम भएको ६.५३ डलरको उच्च रेकर्डभन्दा केही कम हो।

युक्रेनी ड्रोन आक्रमणका कारण रुसी रिफाइनरीहरूमा क्षति पुग्दा रुसको डिजेल उत्पादन करिब ३० प्रतिशतले घटेको छ र उसले देशभित्रै इन्धन अभाव झेल्दै आएको छ। 

ट्रम्पले रुसी तेल प्रशोधन केन्द्रहरूमाथि युक्रेनले गर्ने आक्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनले यस्ता आक्रमणलाई इन्धनको मूल्य बढ्नुको एउटा कारणका रूपमा प्रस्तुत गरेका छन्। तर, जेलेन्स्कीले युक्रेनका आक्रमणको बचाउ गर्दै रुसले वर्षौंदेखि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएकाले युक्रेनले जवाफी कारबाही गरेको बताएका छन्। 

“यदि रुसले हाम्रो ऊर्जा पूर्वाधार नष्ट गर्दैन भने युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमा आगो लगाउने छैन,” जेलेन्स्कीले भनेका छन्।

विश्व बजारमा कच्चा तेलको मूल्य अझै उच्च छ। कच्चा तेलको अन्तर्राष्ट्रिय मानक ब्रेन्टको मूल्य प्रतिब्यारेल १०३ डलरभन्दा माथि रहेको छ। इरान युद्ध सुरु हुनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७३ डलर थियो। चुनाव नजिकिँदै गर्दा ट्रम्पले ग्यासोलीनको सङ्घीय कर हटाउने, राजमार्गमा रेड-डाई डिजेल प्रयोग गर्न दिने र जी-७ राष्ट्रहरूलाई १० करोड ब्यारेल तेल भण्डारबाट छाड्न दबाब दिने जस्ता विभिन्न प्रयास गरिरहेका छन्।

असोज २४, २०८३ शनिबार १३:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।