नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, भने - 'अरू कसैले नगरेको काम मैले गरेको छु'

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, भने - 'अरू कसैले नगरेको काम मैले गरेको छु'

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू पूर्ण रूपमा योग्य रहेको दाबी गरेका छन्।

ह्वाइट हाउसस्थित ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएयता आठवटा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गरिसकेको बताए।

शुक्रबार घोषणा हुन लागेको पुरस्कारका विषयमा बोल्दै उनले भने, "मैले घमण्ड गरेको होइन, तथ्य मात्र भनेको हुँ। मैले अरू कसैले गर्न नसकेको काम गरेको छु। मैले आठवटा युद्ध अन्त्य गराएको छु।"

आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उनको दाबी थियो।

सो क्रममा ट्रम्पले नोबेल समितिको निष्पक्षतामाथि टिप्पणी गर्दै सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको निर्णयको पुनः आलोचना गरे। साथै, गत वर्षकी नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेट स्मरण गर्दै मचाडोले आफ्नो पदक आफूलाई सुम्पेको दाबीसमेत ट्रम्पले गरे।

ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ। तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै उनको दाबीमाथि प्रश्न उठाइएको छ। मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उनको शान्ति प्रयासलाई चुनौती दिएको छ।

नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले स्वतन्त्र रूपमा प्रदान गर्छ। सन् २०२६ का सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन्।

असोज २२, २०८३ बिहीबार १०:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।