जापानका चार ठूला बियर उत्पादक कम्पनीमा एकैपटक सरकारी छापा
एजेन्सी : जापानका चार ठूला बियर उत्पादक कम्पनीका कार्यालयहरूमा सरकारले छापा मारेको छ।
उत्पादनको मूल्यवृद्धिमा आपसमा मिलेमतो (कार्टेलिङ) गरेको आरोपमा जापानको एकाधिकार विरोधी नियामक निकाय जापान फेयर ट्रेड कमिसन (जेएफटीसी)ले बजारमा एकछत्र राज गरिरहेका असाही, साप्पोरो, किरिन र सान्तोरीका कार्यालयहरूमा स्थलगत छापा मारेको हो।
चारै कम्पनीले आफ्ना कार्यालयहरूमा अनुसन्धान अधिकारीहरूले खोजी गरेको पुष्टि गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन्।
जापानको बियर बजारमा यी चार कम्पनीको पूर्ण दबदबा रहेको छ। छापा मारिएको खबर सार्वजनिक भएलगत्तै सेयर बजारमा सूचीकृत असाही, किरिन र साप्पोरोको सेयर मूल्यमा भारी गिरावट आएको छ। सान्तोरी भने सेयर बजारमा सूचीकृत कम्पनी होइन।
स्थानीय सञ्चारमाध्यमका अनुसार जेएफटीसीका महासचिव इवानारी हिरोले अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। तर, प्रारम्भिक चरणको काम भइरहेकाले तत्काल विस्तृत विवरण खुलाउन नसकिने उनको भनाइ छ।
मूल्यवृद्धिको समयमा मिलेमतोको आशंका
‘जापान टाइम्स’का अनुसार कम्पनीहरूले सन् २०२२ को अक्टोबर र गत वर्षको अप्रिलमा गरेको मूल्यवृद्धिलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको हो।
त्यसबेला चारै कम्पनीले कच्चा पदार्थ, ऊर्जा र ढुवानी लागत बढेको कारण देखाउँदै लगभग एकै समयमा बियरको मूल्य बढाएका थिए। नियामक निकायले भने उनीहरूले प्रतिस्पर्धा सीमित गर्दै मिलेमतोमा मूल्य बढाएर ‘एकाधिकार विरोधी ऐन’ उल्लङ्घन गरेको आशंका गरेको छ।
किरिन होल्डिङ्सले आफ्नो सहायक कम्पनी ‘किरिन ब्रुअरी’मा एकाधिकार विरोधी ऐन उल्लङ्घनको आशंकामा अनुसन्धान भएको जानकारी दिएको छ। यसलाई कम्पनीले ‘निकै गम्भीर’ रूपमा लिएको र नियामकलाई पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट पारेको छ।
यस्तै, सान्तोरीका प्रवक्ताले पनि घरेलु मदिरा व्यापार अभ्याससँग सम्बन्धित कानुन उल्लङ्घनको विषयमा स्थलगत अनुसन्धान भएको पुष्टि गरेका छन्। कम्पनीले आफ्ना ग्राहक, व्यावसायिक साझेदार र सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। असाहीले पनि छानबिनमा नियामक निकायसँग सहकार्य गरिरहेको जनाएको छ।
जापानमा ठूला व्यापारिक घरानाहरू मिलेर मूल्य बढाएको आरोपमा छापा मारिएको यो पहिलो घटना भने होइन।
यसअघि गत जुन महिनामा पनि मेइजी र पोकी ब्रान्डको निर्माता इजाकी ग्लिकोलगायत देशका ठूला आइसक्रिम उत्पादक कम्पनीहरूमाथि यस्तै मिलेमतोको आरोपमा नियामक निकायले छापा मारेर छानबिन गरेको थियो।
असोज २२, २०८३ बिहीबार ०७:४६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।