इजरायली चुनावमा ‘अक्टोबर ७’ को घटना मुख्य मुद्दा

इजरायली चुनावमा ‘अक्टोबर ७’ को घटना मुख्य मुद्दा

जेरुसेलम : हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको भीषण आक्रमणपछि पहिलोपटक हुन लागेको आम निर्वाचनमा सोही घटना इजरायलको केन्द्रीय चुनावी मुद्दा बनेको छ।

आगामी अक्टोबर २७ मा हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य, सुरक्षा विफलता र युद्धको जिम्मेवारीलाई लिएर दलहरूबीच तीव्र बहस सुरु भएको छ।

विपक्षीहरूले अक्टोबर ७ को सुरक्षा विफलताको मुख्य जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाको आधिकारिक छानबिन आयोग गठन र मुलुकको पुनर्निर्माणलाई प्राथमिकतामा राखेका छन्।

अर्कातर्फ, नेतान्याहु र उनका समर्थकहरूले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता दोहोर्याउँदै कठिन परिस्थितिमा देशलाई सही नेतृत्व दिएको दाबी गरिरहेका छन्।

‘इजरायल डेमोक्रेसी इन्स्टिच्युट’ का अनुसार ६० प्रतिशतभन्दा बढी मतदाताले मतदानको निर्णय लिँदा अक्टोबर ७ को घटना र त्यसपछिको सुरक्षा अवस्थालाई नै प्रमुख आधार बनाउने बताएका छन्।

चुनावी बहसमा गाजाको मानवीय सङ्कटभन्दा इजरायलको आन्तरिक सुरक्षा, नेतृत्वको जवाफदेहिता र क्षेत्रीय युद्धको असर बढी हाबी देखिएको छ।

असोज २१, २०८३ बुधबार १४:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।