नशामा सुरमा भएको सम्बन्ध ‘सहमति’ कि बलात्कार? कर्नेल प्रकरणपछि अमेरिकामा चर्कियो कानुनी बहस
एजेन्सी : अमेरिकाको प्रतिष्ठित कर्नेल विश्वविद्यालयमा भएको एक सामूहिक बलात्कारको घटनापछि त्यहाँको कानुनी व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
मदिरा वा लागुऔषधको नशामा रहेको व्यक्तिले यौन सम्बन्धका लागि ‘सहमति’ दिन सक्छ वा सक्दैन भन्ने विषयमा अमेरिकाका विभिन्न राज्यका कानुनहरूमाथि नयाँ बहस सुरु भएको हो।
अभियोगपत्रमा ‘जेन डो’ नाम दिइएकी एक युवतीले गत महिना अदालतमा मुद्दा दायर गर्दै सन् २०२४ मा कर्नेल विश्वविद्यालयको एक विद्यार्थी समूह (फ्रेटरनिटी हाउस) का सदस्यहरूले आफूलाई जबर्जस्ती लागुऔषध तथा अत्यधिक मदिरा सेवन गराई सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन्।
ती युवतीका अनुसार उनी अत्यधिक नशामा रहेकाले सहमति दिन सक्ने अवस्थामा थिइनन्।
‘स्वेच्छिक नशा’ सम्बन्धी कानुनी छिद्र
न्युयोर्क राज्यको विद्यमान कानुन अनुसार यदि कसैले आफ्नै इच्छाले मदिरा वा लागुऔषध सेवन गरेको छ भने, ऊ स्वतः ‘सहमति दिन नसक्ने अवस्था’ मा रहेको मानिँदैन।
जबर्जस्ती नशा खुवाइएको अवस्थामा मात्र कानुनले पीडितलाई स्वतः संरक्षण गर्छ। अमेरिकी सञ्चारमाध्यमहरूले यसलाई ‘भोलेन्टरी इन्टोक्सिकेसन लुपहोल’ (स्वेच्छिक नशाको कानुनी छिद्र) का रूपमा व्याख्या गरेका छन्।
यस घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेको छ।
न्युयोर्ककी गभर्नर क्याथी होकुलले भनेकी छन्, “स्वेच्छाले नशा गर्नु यौन हिंसा वा सामूहिक बलात्कारको छुट होइन।” उनले यो कानुनी छिद्र हटाउन राज्यको विधायिकासँग मिलेर कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएकी छन्।
सहमति दिन असमर्थ भएको कसरी पुष्टि गर्ने ?
न्युयोर्कसहित अमेरिकाका कम्तीमा १९ राज्यहरूमा नशाका कारण सहमति दिन असमर्थ भएको प्रमाणित गर्न निकै कडा कानुनी मापदण्ड तोकिएको छ। न्युयोर्कको कानुन अनुसार पीडित पूर्ण रूपमा बेहोस भएको वा शारीरिक रूपमै असहमति जनाउन नसक्ने अवस्थामा रहेको प्रमाणित हुनुपर्छ।
पूर्वअभियोजक मिचेल एप्नरका अनुसार यो अवस्था प्रमाणित गर्न निकै कठिन हुन्छ।
“अत्यधिक नशामा भए पनि पीडित पूरै अचेत नभएको बहानामा धेरै अभियुक्तहरूले सफाइ पाउने वा उनीहरूमाथि मुद्दै नचल्ने जोखिम रहन्छ”, उनले भने। उनले गाडी चलाउन नसक्ने गरी लागेको नशालाई नै सहमति दिन असमर्थ मानिने गरी कानुन परिमार्जन गर्नुपर्ने माग गरेका छन्।
यद्यपि, यौन अपराधसम्बन्धी पूर्वसरकारी वकिल ड्यान स्कोर भने विद्यमान कानुनको गलत व्याख्या भइरहेको बताउँछन्।
स्वेच्छाले मदिरा पिएकै भए पनि यदि व्यक्ति सहमति वा असहमति जनाउन नसक्ने अवस्थामा छ भने त्यो बलात्कार नै ठहरिने र यसअघि पनि त्यस्ता मुद्दामा आफूले अभियुक्तलाई सजाय दिलाएको उनको दाबी छ।
परिमार्जनको प्रयास र विवाद
न्युयोर्कको सिनेटले कानुन संशोधन सम्बन्धी विधेयक अघि बढाए पनि तल्लो सदनबाट यो अझै पारित हुन सकेको छैन। प्रस्तावित विधेयकमा नशाका कारण आफ्नो व्यवहार नियन्त्रण गर्न नसक्ने अवस्थालाई पनि असहमति मानिने उल्लेख छ।
तर, प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरूले प्रस्तावित संशोधनको विरोध गरेका छन्।
‘न्युयोर्क स्टेट एसोसिएसन अफ क्रिमिनल डिफेन्स लयर्स’ ले प्रस्तावित कानुनका प्रावधानहरू निकै अस्पष्ट रहेको जनाएको छ। कुन हदसम्मको नशालाई सहमति दिन नसक्ने मान्ने भन्ने स्पष्ट मापदण्ड तोक्न नसकिए कानुनको दुरुपयोग हुन सक्ने उनीहरूको चेतावनी छ।
कर्नेल विश्वविद्यालय परिसरमा भने विद्यार्थीहरूले घटनाको विरोध गर्दै कडा कारबाहीको माग गरेका छन्। विश्वविद्यालयको आफ्नै आचारसंहितामा स्पष्ट र आपसी सहमतिबिना हुने कुनै पनि यौन गतिविधिलाई अपराध मानिने उल्लेख छ, जहाँ मौन रहनुलाई सहमति मानिँदैन।
असोज २१, २०८३ बुधबार ०७:४४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।