कोहलपुरमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोध, स्वास्थ्य संगठनद्वारा सत्यतथ्य छानबिनको माग
काठमाडौं : बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार तथा हातपातको घटनाप्रति ध्यानाकर्षण जनाउँदै स्वास्थ्य सेवाका चार पेसागत संघ-संगठनहरूले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर एकपक्षीय आरोपका भरमा कार्यक्षेत्रमै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि हातपात गर्नु कानुनी राज्यको उपहास भएको भनेका छन्।
कोहलपुर नगरपालिका- ११ स्थित थापा पोलिक्लिनिकमा गत असोज १७ गते एक युवतीको संवेदनशील अङ्ग छोएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उक्त घटनामा सत्यतथ्य छानबिन गरेर दोषी भेटिए कानुनबमोजिम कारबाही हुने कुरामा विमति नरहेको संगठनहरूले स्पष्ट पारेका छन्।
तर, एक पक्षीय आरोप लगाएको भरमा कार्यक्षेत्रमा प्रवेश गरेर गाली बेइज्जती र हातपातका घटनाले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल खस्किने र समग्र स्वास्थ्य सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
घटना सार्वजनिक भएपछि पोलिक्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्। उनीमाथि जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
असोज २०, २०८३ मंगलबार १९:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।