अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
एजेन्सी : अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप तीव्र रूपमा फैलिएपछि राज्यभर आपत्काल घोषणा गरिएको छ।
न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गरेकी हुन्। सन् २०२५ देखि अमेरिकामा दादुराका बिरामी बढ्न थालेयता यस्तो आपत्काल घोषणा गर्ने न्युयोर्क पहिलो राज्य बनेको छ।
यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन्।
न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु भएको जनाइएको छ।
न्युयोर्क सरकारले दादुराविरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ। साथै, नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ।
घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ।
स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दुई मात्रा दादुरा, गलगण्ड र रुबेलाविरुद्धको खोप लगाउन सुझाव दिएका छन्।
अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घटेको छ। सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत रहेको छ। स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने लक्ष्य राखेका छन्।
अमेरिकामा सन् २००० मा दादुरा उन्मूलन भएको घोषणा गरिएको थियो। तर, सन् २०२५ देखि यो पुनः तीव्र रूपमा फैलिन थालेको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हालसम्म करिब तीन हजार ९०० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ, जुन सन् १९९१ पछिकै सबैभन्दा खराब अवस्था हो।
असोज २०, २०८३ मंगलबार १२:०५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।