श्रीलंकामा गरेको फेसबुक कमेन्टका कारण साउदीमा मृत्युदण्डको फैसला
एजेन्सी : सामाजिक सञ्जाल फेसबुकमा गरेको एउटा कमेन्टका आधारमा साउदी अरेबियाको एक पुनरावेदन अदालतले २४ वर्षीय श्रीलंकाली आप्रवासी श्रमिकलाई मृत्युदण्डको फैसला सुनाएको छ।
इस्लाम धर्म र पैगम्बर मोहम्मदविरुद्ध ‘ईशनिन्दा’ गरेको ठहर गर्दै अनोजन शिवरासालाई मृत्युदण्डको सजाय सुनाइएपछि श्रीलंकामा यसले ठूलो तरंग पैदा गरेको छ।
अदालतको कठोर फैसलापछि अनोजनका परिवारजनले उनको जीवनरक्षाका लागि अन्तर्राष्ट्रिय समुदाय र साउदी सरकारसमक्ष याचना गरेका छन्।
“मेरो छोराबाट भएको गल्तीप्रति म क्षमा माग्छु। कृपया उसलाई माफ गरिदिनुहोस् र हामीकहाँ फर्काइदिनुहोस्”, आँसु थाम्दै अनोजनकी आमा रसमानिकम योगलक्ष्मीले विलाप गरिन्।
परिवारका अनुसार गत सेप्टेम्बर २८ देखि अनोजनसँग कुनै सम्पर्क हुन सकेको छैन।
साउदी अरेबियामा मृत्युदण्डको फैसला सुनाइएका कैदीहरूलाई निजी फोन प्रयोग गर्न निषेध गरिने र कैदीका आफन्त वा दूतावासलाई पूर्वजानकारी नदिई मृत्युदण्ड दिने नजिर रहेका कारण परिवार थप त्रसित बनेको छ।
कसरी सुरु भयो विवाद ?
यो घटनाको जरो श्रीलंकामा भएको एउटा धार्मिक विवादसँग जोडिएको छ। गत जुनको अन्त्यमा श्रीलंकामा हिन्दु तीर्थयात्रीहरूको पछि लागेको एउटा कुकुरलाई एक मुस्लिम युवकले लात्तीले हानेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा दुई पक्षबीच विवाद चर्किएको थियो।
त्यस क्रममा एक प्रयोगकर्ताले हिन्दु देवताप्रति अपमानजनक टिप्पणी गरेपछि आक्रोशमा आएका अनोजनले तमिल भाषामा पैगम्बर मोहम्मदविरुद्ध आपत्तिजनक प्रतिक्रिया फर्काएका थिए। यद्यपि, उनले तुरुन्तै सो कमेन्ट हटाएर माफी मागेको भिडियोसमेत पोस्ट गरेका थिए।
तर, श्रीलंकाबाटै केही व्यक्तिहरूले उनको कमेन्टको स्क्रिनसट साउदीस्थित उनको रोजगारदाता कम्पनीलाई इमेलमार्फत पठाइदिएपछि गत जुलाईमा साउदी सुरक्षाकर्मीले उनलाई कार्यस्थलबाटै पक्राउ गरेका थिए।
साइबर कानुनबाट एकाएक ‘शरिया’ अन्तर्गत मृत्युदण्ड
सुरुमा अल-अहसा फौजदारी अदालतले अनोजनलाई त्यहाँको साइबर अपराध कानुनअनुसार पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल (करिब ८ लाख अमेरिकी डलर) जरिवाना तोकेको थियो।
तर, सरकारी वकिलले उक्त फैसलामा चित्त नबुझाई साइबर अपराधको सट्टा शरिया कानुनअन्तर्गत मुद्दा चलाउन पुनरावेदन गरेपछि गत सेप्टेम्बर १७ मा अदालतले सजाय बढाएर सिधै मृत्युदण्डको फैसला सुनाएको हो।
श्रीलंकामा कूटनीतिक र धार्मिक ऐक्यबद्धता
यो फैसलापछि श्रीलंका सरकारले अनोजनको रिहाइका लागि कूटनीतिक पहल तीव्र पारेको छ।
अनोजनका परिवारले नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग भेट गरी जीवनरक्षाको अपिल गरेका छन्। राष्ट्रपति दिसानायकेले साउदी सरकारसँग कूटनीतिक तवरबाट आममाफीका लागि हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन्।

यस मुद्दामा श्रीलंकाभित्र अभूतपूर्व धार्मिक ऐक्यबद्धता देखिएको छ। वरिष्ठ बौद्ध धर्मगुरुहरू (रामान्न र अमरापुरा निकायका महानायक थेरोहरू) तथा हिन्दु धर्मगुरुहरूले संयुक्त रूपमा राष्ट्रपति सचिवालयलाई ज्ञापनपत्र बुझाउँदै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
यसैबीच, साउदी अरेबियामा रहेका प्रतिरक्षा कानुन व्यवसायीहरूसँग छलफल गर्न श्रीलंकाली संसद् सदस्यसहितको चार सदस्यीय कानुनी टोली यसै साता साउदी प्रस्थान गर्दैछ।
अभिव्यक्ति स्वतन्त्रता र आप्रवासीको जोखिम
साउदी अरेबियामा सामाजिक सञ्जालमा व्यक्त गरिएका विचारका आधारमा कठोर सजाय दिइने प्रवृत्तिप्रति मानवअधिकारवादी संस्थाहरूले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्।
यसअघि सन् २०२३ मा पनि सामाजिक सञ्जालमा टिप्पणी गरेकै भरमा एक अवकाशप्राप्त शिक्षकलाई मृत्युदण्डको फैसला सुनाइएको थियो, जसलाई अन्तर्राष्ट्रिय दबाबपछि ३० वर्षको जेल सजायमा घटाइएको थियो।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार साउदी अरेबियामा १ करोडभन्दा बढी विदेशी श्रमिक कार्यरत छन्। मानवअधिकारवादीहरूका अनुसार भाषाको समस्या र निष्पक्ष कानुनी प्रतिरक्षाको अभावका कारण न्यून आय भएका आप्रवासी श्रमिकहरू साउदी न्याय प्रणालीमा निकै जोखिमपूर्ण अवस्थामा रहने गरेका छन्।
साउदी अरेबियामा हत्या र लागुऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइने सामान्य भए पनि ईशनिन्दाको आरोपमा मृत्युदण्ड दिइने घटना भने दुर्लभ मानिन्छ।
असोज २०, २०८३ मंगलबार ०७:५१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।