बेलायतको एयरबेसबाट फिर्ता भयो अमेरिकी बमवर्षक विमान

बेलायतको एयरबेसबाट फिर्ता भयो अमेरिकी बमवर्षक विमान

एजेन्सी : बेलायतको ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविर (एयरबेस) मा सुरक्षा चुनौती देखिएपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता लगेको छ।

बेलायती आतंकवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेको एक संदिग्ध घटनापछि अमेरिकाले आफ्ना विमानहरू स्वदेश फिर्ता बोलाएको पुष्टि गरेको हो।

अमेरिकी अधिकारीहरूले विमान फिर्ता लैजानुको औपचारिक कारण नबताए पनि गत सेप्टेम्बर २७ मा भएको घटनासँग यसलाई जोडेर हेरिएको छ।

उक्त दिन ग्लुसेस्टरशायरस्थित अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको सो सैन्य अखडानजिक तीनवटा ‘शंकास्पद सवारीसाधन’ देखिएका थिए।

त्यसलगत्तै प्रहरीले आतंकवादी क्रियाकलाप र विस्फोटक पदार्थसम्बन्धी कसुरको आशंकामा ५ जना बेलायती युवालाई पक्राउ गरेको थियो।

पछि अर्का एक बेलायती-इरानी नागरिक पनि पक्राउ परेका थिए। तर, अनुसन्धानकै क्रममा प्रहरीले पक्राउ परेका सबै ६ जनालाई धरौटीमा रिहा गरिसकेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय राजनीतिक नभई सैन्य तहबाट जोखिम मूल्याङ्कन गरेर लिइएको हो। यसबारे बेलायतको रक्षा मन्त्रालयले भने कुनै टिप्पणी गर्न मानेको छैन।

घटनामा इरानको हात रहेको आशंका
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले यस घटनामा इरानको हात हुन सक्ने ‘बलियो संकेत’ फेला परेको बताएका छन्। तर, इरानको राजधानी तेहरानले भने यी आरोपहरूको खण्डन गर्दै घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

अमेरिकाले दशकौँदेखि फेयरफोर्ड एयरबेसलाई रणनीतिक रूपमा प्रयोग गर्दै आएको छ। पछिल्ला महिनाहरूमा मध्यपूर्वमा इरानविरुद्ध गरिएका सैन्य कारबाहीका लागि अमेरिकी बमवर्षकहरू यहीँबाट उडेका थिए।

यसअघि नै इरानले आफ्नो भूमिमाथि हुने आक्रमणका लागि प्रयोग गरिने जुनसुकै सैन्य अखडा आफ्नो निशानामा पर्ने चेतावनी दिइसकेको थियो।

ट्रम्प र रुबियोको प्रतिक्रिया
शंकास्पद व्यक्तिहरूलाई बेलायती प्रहरीले धरौटीमा छाडेको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आश्चर्य प्रकट गरेका छन्।

उनले भनेका छन्, ‘हामीलाई उनीहरूका बारेमा सबै जानकारी छ। हाम्रो हातमा भएको भए हामी उनीहरूलाई त्यसरी छाड्ने थिएनौँ।’

त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यस घटनाको पछाडि विदेशी शक्तिको हात रहेको स्पष्ट देखिएको टिप्पणी गरेका छन्।

असोज १९, २०८३ सोमबार ०७:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।