ट्रम्पको चेतावनी : ‘इरानसँगको विषय सजिलो वा कठिन बाटोबाट टुंग्याइनेछ’

ट्रम्पको चेतावनी : ‘इरानसँगको विषय सजिलो वा कठिन बाटोबाट टुंग्याइनेछ’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै ठूलो निर्णय लिने बताएका छन्।

ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एउटा बाटोबाट टुंगिने बताएका हुन्।

इरानको वर्तमान अवस्था ध्वस्त भइसकेको दाबी गर्दै ट्रम्पले भने, "इरानबारे हामीले एउटा निर्णय लिनु परेको छ। इरान पहिले नै थकित र ध्वस्त भइसकेको छ। अब प्रश्न यति मात्र हो कि यो निर्णय सजिलो बाटोबाट हुन्छ वा कठिन बाटोबाट।" 

ट्रम्पले इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो योजना लगभग त्याग्नै लागेको दाबीसमेत गरे। यद्यपि, उनले आफ्नो भावी रणनीति, सैन्य कदम वा सम्भावित प्रतिबन्धका विषयमा थप विवरण भने सार्वजनिक गरेका छैनन्।

यसअघि टेक्सासमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध ‘धेरै छिट्टै’ अन्त्य हुने बताएका थिए । युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने उनको भनाइ थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले इरान नीति र सम्भावित रणनीतिबारे क्याम्प डेभिडमा महत्त्वपूर्ण छलफल गरेका छन्। कूटनीतिक प्रयास सफल नभएमा अमेरिकाले चाल्नसक्ने सैन्य तथा अन्य विकल्पहरूबारे उक्त बैठकमा समीक्षा गरिएको जनाइएको छ।

उता, अमेरिकाको सम्भावित रणनीतिलाई ध्यानमा राख्दै इरानले पनि आफ्ना सैन्य तथा कूटनीतिक संयन्त्रहरूलाई सतर्क गराएको र सम्भावित चुनौतीहरूको सामना गर्न आन्तरिक तयारी सुरु गरेको बताइएको छ।

ट्रम्पले इरानमा ३०१ प्रतिशत मुद्रास्फीति रहेको, आर्थिक अवस्था कमजोर भएको तथा इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन्। उनले इरानले द्वन्द्व अन्त्य गर्ने विषयमा निर्णायक विकल्प रोज्नुपर्ने बताए।

इरानलाई आणविक क्षमता हासिल गर्नबाट रोक्नु अमेरिकी नीतिको प्रमुख प्राथमिकतामध्ये एक रहँदै आएको छ। ट्रम्पको पछिल्लो भनाइसँगै अमेरिकाले इरानविरुद्ध आगामी दिनमा कस्तो कदम चाल्छ भन्ने विषयमा चासो बढेको छ। 

असोज १८, २०८३ आइतबार १२:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।