कांग्रेसको महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष ओली नजाने
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। उनको सट्टा एमालेबाट प्रतिनिधित्व गर्दै महासचिव शंकर पोखरेल सहभागी हुने तय भएको छ।
यसअघि अध्यक्ष ओली आफैँ जाने तय भए पनि आइतबार अचानक उनी नजाने निर्णयमा पुगेका हुन्। यद्यपि, ओली सहभागी नहुनुको कारण भने खुलाइएको छैन। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार अब महासचिव पोखरेलले महाधिवेशनमा पुगेर पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिनेछन्।
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेको छ। देउवा अनुपस्थित रहे सभापति गगन थापाले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तालिका छ।
उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेसले देशका विभिन्न राजनीतिक दलहरू तथा स्वदेशी पाहुनाहरूलाई आमन्त्रण गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरू सहभागी हुने कांग्रेसले जनाएको छ।
असोज १८, २०८३ आइतबार ११:१८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।