नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा चुकेको एमाले महासचिवको स्वीकारोक्ति
काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्व विकास तथा हस्तान्तरणको योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको र पार्टीमा अनुशासन तथा आचरणमा विचलन देखिन थालेको निष्कर्ष प्रस्तुत गरेका छन्।
काठमाडौंमा बुधबार सुरु भएको पार्टीको राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदनमा उनले पुरानो र नयाँ पुस्ताबीचको विश्वास, समझदारी र सहकार्य कमजोर बन्दा त्यसको असर पार्टी निर्माणमा समेत परेको उल्लेख गरेका हुन्।
पार्टीमा लोकतान्त्रीकरणका माध्यमबाट बहुपदीय संरचनामा जाने र नेतृत्व विकास, हस्तान्तरण तथा पुस्तान्तरणको सहज प्रणाली विकास गर्ने निर्णय गरिए पनि व्यवहारमा त्यस्तो योजनाबद्ध प्रणाली पर्याप्त रूपमा स्थापित हुन नसकेको उनले औँल्याएका छन्।
सबै पदाधिकारीको कार्यविभाजन स्पष्ट नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था देखिएको पोखरेलले उल्लेख गरे। पछिल्लो समय पार्टीमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा विचलन देखिन थालेको र यसप्रति कार्यकर्तापङ्क्तिमा चिन्ता तथा चासो व्यक्त भएको प्रतिवेदनमा जनाइएको छ।
पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिस्ट आचरणलाई व्यवहारमा स्थापित गर्न दशौं महाधिवेशनपश्चात् ‘पार्टी शुद्धीकरण अभियान’लाई एजेन्डा बनाएरै छलफल गरिए पनि व्यवहारमा लैजान नसकिएको प्रतिवेदनको निष्कर्ष छ। अभियान कार्यान्वयन हुन नसक्दा पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको उल्लेख गरिएको छ।
शुद्धीकरण अभियानको मापदण्ड र मर्मबारे प्रतिवेदनमा भनिएको छ, “शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्ने हुनुहुँदैन। एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग भएको देखिनु पनि हुँदैन।” पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनःस्थापित गर्नु नै शुद्धीकरणको वास्तविक उद्देश्य हुनुपर्नेमा पोखरेलले जोड दिएका छन्।
प्रतिवेदनमा सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी, मूल्याङ्कन र पदोन्नतिको व्यवस्थित प्रणाली निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा, सीप तथा प्रविधि-ज्ञानलाई जोडेर नेतृत्व विकास गर्नुपर्ने तथा सबै पदाधिकारीको स्पष्ट कार्यविभाजन गरी सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली स्थापित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नुमा पोखरेलको जोड छ।
मंसिर २, २०८३ बुधबार १४:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।