एमालेप्रति सरकार निर्मम बनेको ओलीको आरोप, भने- ‘हामी किरा फट्याङ्ग्रा हौं?’

एमालेप्रति सरकार निर्मम बनेको ओलीको आरोप, भने- ‘हामी किरा फट्याङ्ग्रा हौं?’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार पार्टीप्रति निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाउँदै त्यसको सशक्त प्रतिरोधका लागि तयार रहन पार्टीपङ्तिलाई आव्हान गरेका छन्। 

काठमाडौंमा बुधबार सुरु भएको पार्टीको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा उनले आफूमाथिको गिरफ्तारीप्रति आक्रोश पोखेका छन् भने चौतर्फी घेराबन्दी चिर्दै एमाले पुनः सरकारमा फर्कने दाबीसमेत गरेका छन्।

वर्तमान सरकारले पार्टीमाथि हमला गरेको र भविष्यमा पनि त्यस्तो कदम चाल्न सक्ने आशंका व्यक्त गर्दै ओलीले त्यसको प्रतिरोध महँगो पर्न सक्ने चेतावनी दिए। उनले विगतमा आफू पक्राउ पर्दा विरोधमा उत्रिनेको संख्या कम भए पनि अबको प्रतिरोधमा लाखौंको संख्यामा सडकमा उत्रिने बताए। आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढंगले कुटपिट गरिएको भन्दै ओलीले असन्तुष्टि पोखे।

राज्यले जे गरे पनि हुने अवस्था र आतंक सिर्जना गरेको आरोप लगाउँदै उनले आफूलाई कपोलकल्पित ढंगले पक्राउ गरी हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरे। पूर्वप्रधानमन्त्रीलाई किन पक्राउ गरियो भन्ने जवाफ राज्यले दिनुपर्ने उनले बताए। हिरासतमा राखिएकै कारण आफ्नो शल्यक्रिया ढिलो भएको उल्लेख गर्दै ओलीले उपचार नपाएर स्वास्थ्यमा गम्भीर समस्या आएको भए के हुन्थ्यो भन्दै आक्रोश पोखे। “मान्छेको जीवन खेलबाड हो? हामी किरा फट्याङ्ग्रा हौँ?” उनको प्रश्न थियो।

ओलीले प्रतिक्रियावादी, जनविरोधी र देशको अहित चाहने शक्तिहरूले चौतर्फी घेराबन्दी गरी असंवैधानिक बाटोबाट सत्ताबाट हटाए पनि एमाले पुनः संवैधानिक बाटोबाटै सिंहदरबार पस्ने दाबी गरे। “नेकपा (एमाले) कसैको दया, माया र कृपाले बाँचेको पार्टी होइन। संघर्षको मैदानबाट लडेर र जितेर आएको पार्टी हो,” उनले भने, “कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ र देश बनाउँछ।”

मंसिर २, २०८३ बुधबार १५:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।