स्क्रब टाइफसको जोखिममा लुम्बिनी, बिरामी बढ्दा परीक्षण किटको अभाव

स्क्रब टाइफसको जोखिममा लुम्बिनी, बिरामी बढ्दा परीक्षण किटको अभाव

बुटवल : किर्नाको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’का संक्रमित लुम्बिनी प्रदेशका तराईंसहित पहाडी जिल्लाहरूमा समेत देखिन थालेका छन्। पर्याप्त परीक्षण किटको अभाव भइरहेका बेलामा सबै जस्तो जिल्लामा संक्रमित भेटिन थालेपछि स्वास्थ्य जोखिम बढेको छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा स्क्रब टाइफसको जस्तो समस्या देखिएका दुई हजार ७८० जनामध्ये २३१ जनामा संक्रमण पुष्टि भयो।

प्रदेशमा सबैभन्दा धेरै प्रभावित जिल्ला दाङ देखिएको छ। दाङमा ६२४ जनामा स्क्रब टाइफसको जस्तो लक्षण देखिएकोमा ६५ जनामा संक्रमण पुष्टि भयो।

त्यसपछि पाल्पामा स्वास्थ्य समस्या देखिएका ३९६ जनाको जाँच गर्दा २२ जनामा संक्रमण देखियो। बर्दियामा ३२४ जनामा समस्या देखिँदा पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनायो। 

रुपन्देहीमा २१६ जनामा समस्या
प्रदेशको तराई क्षेत्रसमेत स्क्रब टाइफसको जोखिमबाट बाहिर छैन। रुपन्देहीमा स्क्रब टाइफसको समस्या देखिएका २१६ जनामध्ये १४ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै पश्चिम नवलपरासीमा ६९ जनामा समस्या देखिँदा चार जनामा संक्रमण भेटियो। 

कपिलवस्तुमा ४८ जनामा समस्या देखिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ। बाँकेमा १७८ जनामा समस्या देखिँदा पाँच जनामा संक्रमण पुष्टि भएको छ। प्युठानमा ४७, रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९ र रुकुम पूर्वमा ७५ जनामा स्क्रब टाइफसको समस्या देखिएको तथ्यांक छ।

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीका अनुसार स्क्रब टाइफसबाट जोगिन झाडी तथा घाँस सफा राख्नुका साथै खेतबारी वा झाडी क्षेत्रमा काम गर्दा सावधानी अपनाउन आवश्यक छ।

स्क्रब टाइफस सामान्यतः संक्रमित सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक कमजोरी हुनेलगायतका लक्षण देखिन सक्ने भएकाले समयमै परीक्षण र उपचारमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

डेंगुको जोखिम पनि कायमै!
लुम्बिनीमा स्क्रब टाइफससँगै डेंगुको जोखिम पनि देखिएको छ। प्रदेशका विभिन्न जिल्लामा ८४६ जनामा डेंगुको समस्या देखिएकोमा ८२७ जनामा संक्रमण पुष्टि भएको छ।

डेंगुको संक्रमण सबैभन्दा धेरै पाल्पामा देखिएको छ। त्यहाँ २५१ जनामा संक्रमण पुष्टि भएको छ। दाङमा १७८ जनामा समस्या देखिएकोमा १६३ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा १२८, गुल्मीमा ६५ र पश्चिम नवलपरासीमा ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्यांक छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. सुभाष ज्ञवालीले ज्वरो, टाउको तथा शरीर दुख्ने र असामान्य कमजोरीजस्ता लक्षण देखिए घरमै औषधि सेवन गरेर बस्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्ने बताए।

डेंगुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने र लामखुट्टे वृद्धि हुने स्थान नष्ट गर्न आवश्यक रहेको उनको भनाई छ।

‘परीक्षण किट पर्याप्त छैन’
संक्रमणको जोखिम बढिरहेका बेला परीक्षणका लागि आवश्यक किटको उपलब्धता भने पर्याप्त छैन। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीले जिल्ला स्वास्थ्य कार्यालयमार्फत संक्रमण बढी देखिएका स्थानमा स्क्रब टाइफस र डेंगु परीक्षणका किट पठाइएको बताए। तर आवश्यकताअनुसार किट पर्याप्त नभएको उनको भनाइ छ।

"हामीले केन्द्रसँग समन्वय गरेर स्क्रब टाइफस र डेंगुको किट पठाएका छौं। तर त्यो पर्याप्त भने छैन," गिरीले भनेका छन्। स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले स्क्रब टाइफस र डेंगुको जोखिम पहाडी तथा तराई दुवै क्षेत्रमा देखिएकाले रोग नियन्त्रणका गतिविधि जिल्लागत रूपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताए।

वर्षायामपछि लामखुट्टेको प्रजनन बढ्ने तथा झाडी र घाँसे क्षेत्रमा किर्नाको जोखिम रहने भएकाले समुदायस्तरमै सरसफाइ, सावधानी र निगरानी बढाउनुपर्ने उनको भनाइ छ।

असोज १७, २०८३ शनिबार १८:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।