यसकारण खाँदै नखानुस् पत्रिकामा पोको पारेको तारेको खानेकुरा
एजेन्सी : सडक छेउका पसल वा होटलहरूमा समोसा, पकौडा, जेरी वा अन्य तारेका खानेकुरा पत्रिकामा बेरेर दिनु अचेल सामान्यजस्तै बनेको छ।
धेरैले घरमै पनि तेल सोस्नका लागि पूरी वा पकौडा पत्रिकामाथि राख्ने गर्छन्। तर, यो बानी स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले होटल, रेस्टुरेन्ट र सडक व्यापारीहरूलाई खानेकुरा पत्रिका वा कुनै पनि छापिएका कागजमा राखेर नबेच्न र प्याक नगर्न कडा निर्देशन जारी गरेको छ।
पत्रिकामा खाना राख्नु किन खतरनाक?
पत्रिका छाप्न प्रयोग गरिने मसीमा ‘सिसा’ लगायत विभिन्न हानिकारक रसायन, रङ र मिनरल आयल हाइड्रोकार्बन हुन्छन्।
जब तातो र चिल्लो खानेकुरा पत्रिकामा राखिन्छ, तापक्रमका कारण मसीमा भएका ती विषक्त रसायन पग्लिएर खानेकुरामा मिसिन्छन्।
यस्तो खाना खाँदा ती रसायनहरू पेट हुँदै रगतमा पुग्छन्, जसले शरीरका भित्री अंगहरूलाई गम्भीर हानि पुर्याउने भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले जनाएको छ।
स्वास्थ्यमा कस्तो असर पर्छ?
स्वास्थ्य विज्ञहरूका अनुसार पत्रिकाको मसीमा पाइने ‘सिसा’ (लिड) रगतमा मिसिएर कलेजोलाई खराब गर्न सक्छ। यसले मस्तिष्कलाई समेत असर गर्ने जोखिम रहन्छ।
वयस्कहरूको तुलनामा बालबालिकाका अंगहरू पूर्ण विकसित भइनसक्ने भएकाले यसले बालबालिकाको मानसिक र शारीरिक विकासमा गम्भीर असर पार्न सक्छ।
गर्भवती महिलाले यस्तो खाना खाएमा पेटमा रहेको बच्चाको विकास रोकिन सक्छ। यसले गर्भपतन हुने, बच्चा मानसिक वा शारीरिक रूपमा अशक्त जन्मिने वा मृत शिशु जन्मिनेजस्ता जोखिम बढाउँछ।
पत्रिका धेरै मानिसको हात र फोहोर ठाउँहरू हुँदै गुज्रिने भएकाले यसमा धुलो, ब्याक्टेरिया र कीटाणुहरू हुन्छन्। यसले गर्दा मानिस तत्कालै बिरामी पर्न सक्छन्।
पत्रिका कुन-कुन काममा प्रयोग गर्नु हुँदैन?
खाद्य सुरक्षा निकायका अनुसार पत्रिकालाई तारेको खानेकुराबाट बढी भएको तेल सोस्न, खानेकुरा वा खाना बनाउने सामग्री छोप्न, खानेकुरा पस्कन वा प्लेटको रूपमा प्रयोग गर्न र खानेकुरा प्याक वा पार्सल गर्न प्रयोग गर्नु हुँदैन।
विशेषज्ञहरूका अनुसार घरमा वा पसलमा खानेकुरा राख्नका लागि पत्रिकाको सट्टा स्टिल वा सिसाका भाँडा, साल वा अन्य पातबाट बनेका दुना-टपरी (पत्तल) तथा आधिकारिक रूपमा मान्यता प्राप्त ‘फूड-ग्रेड’ प्याकेजिङ कागज मात्र प्रयोग गर्नुपर्छ।
असोज १७, २०८३ शनिबार १४:१९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।