फ्लाईदुबई विमानमा सहपाइलटद्वारा क्याप्टेनमाथि बन्चरो प्रहार, 'आतंकवादी आक्रमण'को प्रयास भएको यूएईको दाबी

फ्लाईदुबई विमानमा सहपाइलटद्वारा क्याप्टेनमाथि बन्चरो प्रहार, 'आतंकवादी आक्रमण'को प्रयास भएको यूएईको दाबी

एजेन्सी : दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको ‘फ्लाईदुबई’को विमानमा सहकर्मी पाइलटमाथि ककपिटभित्रै 'क्र्यास एक्स’ प्रहार गरी आक्रमण गरेको र विमान नियन्त्रणमा लिने प्रयास गरेको  संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीले बताएका छन्।

यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले घटनालाई सम्भावित ‘आतंकवादी हमला’ को प्रयासका रूपमा अनुसन्धान भइरहेको बताएका हुन्।

फ्लाईदुबईको उडान एफजेड १०७३ मा १८० जना यात्रु सवार थिए। संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको सो विमान साउदी अरेबियाको आकाशमा ३३ हजारदेखि ३४ हजार फिटको उचाइमा उडिरहेका बेला सहपाइलट हम्माम अल-हम्मामीले भारतीय मूलका क्याप्टेन स्मित मच्छरमाथि ककपिटमा रहेको आपत्कालीन अवस्थामा प्रयोगका लागि राखिने ‘क्र्यास एक्स’ (बन्चरो)ले अचानक आक्रमण गरेको बताइएको छ।

गम्भीर घाइते भए पनि पाइलट मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु तथा चालक दलका सदस्य ककपिटमा प्रवेश गरी सहपाइलटलाई नियन्त्रणमा लिएका थिए।

घटनाका क्रममा विमान करिब १७ हजार फिट तल झरेको फ्लाइट ट्र्याकिङ तथ्यांकले देखाएको छ। त्यसपछि विमानलाई साउदी अरबमा डाइभर्ट गरी आपत्कालीन अवतरण गराइएको थियो।

घटनामा विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य जीवित रहेको बताइएको छ। विमानमा अधिकांश यात्रु इजरायली नागरिक रहेको जनाइएको छ।

सहपाइलटको पहिचान ओमानी नागरिक हम्माम अल–हम्मामीका रूपमा विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन्। यद्यपि, यूएईका अधिकारीहरूले उनको पहिचान औपचारिक रूपमा पुष्टि गरिसकेका छैनन्।

उनको सामाजिक सञ्जालमा आतंकवादी संगठन ‘अल-कायदा’का नेताहरूका तस्बिर र इजरायलविरोधी उत्तेजक सामग्री भेटिएका छन्।

यूएईका महान्यायाधिवक्ता शम्सीले घटनाको वास्तविक परिस्थिति, आक्रमणको उद्देश्य तथा सम्भावित सम्बन्धबारे अनुसन्धान जारी रहेको बताएका छन्। अनुसन्धानका क्रममा भौतिक तथा डिजिटल प्रमाणसमेत परीक्षण गरिने जनाइएको छ।

नेतन्याहुको प्रतिक्रिया
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहपाइलटले कसैको निर्देशनमा काम गरेको हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनामा संलग्न अन्य व्यक्ति वा समूह फेला परेमा उनीहरूले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यसअघि नेतन्याहुले सहपाइलटमा कट्टरपन्थी इस्लामवादी विचारधाराको प्रभाव रहेको र उनी आत्मघाती देखिएको दाबी गरेका थिए। तर घटनाको वास्तविक उद्देश्य अझै स्पष्ट भइनसकेको बताएका थिए।

इजरायली सरकारी अधिकारीका अनुसार इजरायली अनुसन्धानकर्ताहरूले पनि यूएईको नेतृत्वमा भइरहेको अनुसन्धानमा सहकार्य गर्नेछन्। अनुसन्धानले घटनाको क्रमसँगै आरोपित सहपाइलटको पृष्ठभूमि र सम्भावित उद्देश्यबारे समेत अध्ययन गर्नेछ।

असोज १७, २०८३ शनिबार १४:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।