जापानीज इन्सेफलाइटिसबाट २८ जनाको मृत्यु, ३७ जिल्लामा फैलियो सङ्क्रमण

जापानीज इन्सेफलाइटिसबाट २८ जनाको मृत्यु, ३७ जिल्लामा फैलियो सङ्क्रमण

काठमाडौं : नेपालमा जापानीज इन्सेफलाइटिस (जेई) को सङ्क्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकोमा १३१ जनामा जेई सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये ८७ प्रतिशत व्यक्तिहरूले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ। हालसम्म देशका ३७ जिल्लाका ९० वटा स्थानीय तहमा यो सङ्क्रमण फैलिसकेको छ। विशेषगरी धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न व्यक्तिहरू यसबाट बढी प्रभावित रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा उल्लेख छ।

सरकारले प्रभावित जिल्लामा जेईविरुद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। अभियानको लक्षित समूह ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मी रहेका छन्।

कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन्। सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

असोज १७, २०८३ शनिबार १३:०४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।