फ्लाईदुबईका पाइलटको सामाजिक सञ्जालमा भेटियो अल-कायदाका नेताको तस्वीर
एजेन्सी : दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको ‘फ्लाईदुबई’को विमानभित्र सहकर्मी पाइलटमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिको सामाजिक सञ्जालमा कुख्यात आतंकवादी संगठन ‘अल-कायदा’का नेताहरूका तस्बिर र इजरायलविरोधी उत्तेजक सामग्री भेटिएका छन्।
ओमानका नागरिक रहेका ती पाइलट हमाम अल-हम्मामीले गत बुधबार उडानकै क्रममा ककपिटभित्र अर्का पाइलटमाथि आक्रमण गरेका थिए। त्यसपछि जहाजलाई आकस्मिक रूपमा साउदी अरेबियामा अवतरण गराइएको थियो।
अनुसन्धानका क्रममा उनी यसअघि नै चरमपन्थी सोचका कारण ओमानको राष्ट्रिय वायुसेवा ‘ओमान एयर’को उडान तालिमबाट हटाइएको समेत खुलेको छ।
ककपिटबाट इजरायली जहाजको भिडियो, अन्त्यमा अल-कायदाका कमान्डर
विमानमा आक्रमण भएको करिब नौ घण्टापछि हम्मामीको लिंक्डइन र इन्स्टाग्राम खातामा दुईवटा भिडियो पोस्ट गरिएका थिए।
बोइङ ७३७ म्याक्स विमानको ककपिटबाट खिचिएको पहिलो भिडियोमा दुबई विमानस्थलमा रहेका इजरायलका ‘एल अल’ र ‘अर्किया’ एयरलाइन्सका विमानहरूलाई विशेष रूपमा जुम गरेर देखाइएको छ।
सो भिडियोको अन्त्यमा ओसामा बिन लादेनको मृत्युपछि अल-कायदाको नेतृत्व सम्हालेका अयमान अल-जवाहिरी र सन् २००९ मा सात अमेरिकी गुप्तचर (सीआईए) अधिकारीहरूको ज्यान लिने आत्मघाती हमलाकारी हुमाम खलिल अल-बलावीको तस्बिर राखिएको छ।
अर्को भिडियोमा मक्का, मदिना र जेरुसेलमका पवित्र धार्मिक स्थलहरूलाई एउटै प्रकाशको रेखाले जोडेको देखाइएको छ, जसको पृष्ठभूमिमा ‘अपमान अस्वीकार गर्ने र मृत्युसँग नडराउने’ भावको उत्तेजक कविता वाचन गरिएको छ। हाल यी दुवै खाताहरू सामाजिक सञ्जालबाट हटाइसकिएको छ।
कट्टर धार्मिक र महिलाविरोधी मानसिकता
उनका पुराना करिब ३ हजार ट्विटर (हाल एक्स) पोस्टहरूको विश्लेषण गर्दा हम्मामी चरम महिलाविरोधी र धार्मिक कट्टरपन्थी रहेको देखिएको छ। उनले महिलाले अनिवार्य रूपमा ‘नकाब’ लगाउनुपर्ने र विवाहपछि जागिर छाड्नुपर्ने धारणा राख्दै आएका थिए।
त्यस्तै, महिला-पुरुष सँगै काम गर्ने कार्यालयको वातावरणले समाजमा विकृति ल्याएको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोख्ने गरेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ती पाइलट “इस्लामिक कट्टरपन्थी सोचबाट दीक्षित भएको” बताएका छन्। हाल साउदी अरेबियाको नियन्त्रणमा रहेका हम्मामीमाथि साउदी, युएई र इजरायली गुप्तचर निकाय (मोसाद र शिन बेट) को सहभागितामा सोधपुछ भइरहेको छ।
युएईका महान्यायाधिवक्ताले पनि घटनाको पछाडि कुनै योजनाबद्ध आतंककारी उद्देश्य थियो वा थिएन भन्नेबारे औपचारिक अनुसन्धान सुरु गरेका छन्।
असोज १७, २०८३ शनिबार ०८:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।