जापानमा बेरोजगारी बढ्यो, होटल र खुद्रा क्षेत्रमा घट्यो रोजगारी
एजेन्सी : पाँच महिनापछि पहिलो पटक जापानको बेरोजगारी दर बढेर अगस्ट महिनामा २.५ प्रतिशत पुगेको छ। जापान सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर बढेको देखाएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ।
कामबाट बाहिरिएका व्यक्तिमध्ये आठ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन्। राम्रो काम गर्ने अवस्था खोज्दै रोजगारी छाड्नेको सङ्ख्या जुलाईको तुलनामा आठ प्रतिशतले बढेको हो।
त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो।
मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर चार लाख ६० हजार पुगेको छ। यसैबीच, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टै तथ्याङ्कअनुसार अगस्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ।
यो अघिल्लो महिनाको तुलनामा अपरिवर्तित हो। यसको अर्थ प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए।
उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन्। आवास तथा रेस्टुरेन्ट सेवामा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ।
तर उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेका छन्।
असोज १६, २०८३ शुक्रबार १७:०२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।