३३ करोडमा सम्झौता भएको टोमोथेरापी मेसिन १४ करोडमा कसरी आयो ?

३३ करोडमा सम्झौता भएको टोमोथेरापी मेसिन १४ करोडमा कसरी आयो ?

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालमा क्यान्सरको उपचारका लागि टोमोथेरापी मेसिन किनेको लगभग १० वर्ष भयो । तर विवाद भने उस्तै छ । 

खरिद प्रक्रिया सुरु भएदेखि नै निरन्तर विवादमा आइरहेको यो खरिदमा मेसिन फिर्ता गर्नेसम्मको काम भयो । तर २०७४ मा ३९ करोडमा भएको यो खरिद विवाद २०८३ को मध्यमा आइसक्दा पनि सल्टिएको छैन। 

टोमोथेरापी खरिदमा भएको बदमासीबारे उकेराले नै सबैभन्दा पहिला सार्वजनिक गरेको थियो। लगभग ४० करोडमा किनिएको मेसिन बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालको चौरमा खिया लागेर थन्किएको सार्वजनिक भएसँगै मेसिन नयाँ ल्याउने प्रक्रिया अगाडि बढेको थियो। नयाँ मेसिन पनि आयो। तर विवाद भने सल्टिएन।

किन?, उकेराले सोधखोज गर्दा  पछिल्लो विवादको मुख्य कारण खुल्यो नयाँ मेसिनको मूल्य।

क्यान्सरको उपचारका लागि अत्यावश्यक भन्दै वीर अस्पतालले २०७४ मा ‘टोमोथेरापी मेसिन ३९ करोडमा किनेको थियो। मेसिन राख्ने बंकरै नबनाई हतारमा यति ठूलो रकममा भएको खरिद निकै शंकास्पद छ। यसमा प्रत्यक्ष जोडिएका थिए वीरका निर्देशक डा. भूपेन्द्र कुमार बस्नेत। मेसिन किनियो, अनि नेपाल पनि ल्याइयो। तर राख्ने ठाउँ नबनेपछि सिधै बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पताल परिसरको चौरमा राखियो। मेसिन चौरमै बिग्रियो।

जब उकेराले प्रमाणसहित यी सबै विवरण प्रकाशित गर्यो अनि बल्ल बल्ल सप्लायर्सलाई नयाँ मेसिन दिन अस्पताल प्रशासनले दबाब बढाए। २०८० पुस १३ मा टोमोथेरापीको नयाँ मेसिन जडान भयो र सञ्चालनमा आयो। तर विवाद सकिएन। टेन्डर पर्दा मेसिन र बंकरसहित ३९ करोडमा लाइफलाइन ट्रेड इन्टरनेशनले पाएको थियो।

दोस्रो पटक यसैले बिग्रिएको मेसिनको साटो नयाँ मेसिन ल्याएर जडान गरिदियो। तर दोस्रो मेसिनको भन्सार विवरणमा मूल्य देखियो १४ करोड। बंकरको खर्च बाहेक मेसिनको मात्र ३३ करोड मूल्य देखिन्छ। ३३ करोड लागतमा स्वीकृत भएको खरिदमा १४ करोडको मेसिन आएपछि नयाँ विवाद सुरु भयो।

टेन्डर स्वीकृत भएपछि सप्लायर्स कम्पनीले पहिलो मेसिन ल्याउनेक्रममै ७० प्रतिशत भुक्तानी पाएको देखिन्छ। जब मेसिनबारे विवाद भयो अनि ३० प्रतिशत भुक्तानी रोकियो। दोस्रो पटक मेसिन ल्याएर, जडान गराएर ३० प्रतिशत रकम माग्दा सप्लायर्स कम्पनीले भुक्तानी पाएन।

भुक्तानी पाउँ भनेर कम्पनी उच्च अदालत पाटन जाँदा उनको पक्षमा आदेश आयो। तर वीर प्रशासनले भुक्तानी गरेको छैन। भुक्तानी किन रोकियो? उकेराले खोजी सुरु गर्यो।

OOO

प्रारम्भमा यो मेसिनको खरिद प्रक्रियामै फर्किऔँ। टोमोथेरापी खरिदका लागि वीर अस्पतालले २०७४ जेठ २१ मा बोलपत्र आह्वान गरेको थियो। असार २१ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले उपकुलपतिस्तरीय निर्णय गर्दै पेस भएका बोलपत्रमध्ये लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिलाई टेन्डर दिने निर्णय गर्यो। त्यो बेलामा प्रतिष्ठानमा उपकुलपति थिए डा. गणेश गुरुङ।

वीर अस्पतालमा रहेको टोमो थेरापी मेसिन।खरिदमा वीर अस्पतालकातर्फबाट तत्कालीन निर्देशक डा. भूपेन्द्र कुमार बस्नेत र साक्षीका रूपमा भगवती थपलियाले हस्ताक्षर गरेका थिए। आपूर्तिकर्ता लाइफलाइन ट्रेड इन्टरनेश्नल प्रालिको तर्फको प्रतिनिधिका रूपमा पुष्कर पण्डितले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।  

त्यो बेला प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले ३३ करोड २४ लाख १६ हजार (३२ लाख अमेरिकी डलर)मा मेसिन ल्याउन सम्झौता गर्दै बैंक अफ काठमाडौंमा २०७४ असार ३० मा प्रतितपत्र (एलसी) खोलेको थियो। 

यो टोमोथेरापी मेसिन खरिदको मूल्य हो। मेसिन राख्ने बंकर बनाउने र वीर अस्पतालमा भएको पुरानो कोबाल्ट–६० मेसिन फ्याँक्नेलगायत रकम ६ करोड ६६ लाख ६६ हजार रुपैयाँ सहित ३९ करोड ९० लाख ८२ हजारमा ठेक्का सम्झौता भयो। 

सम्झौता अनुसार २०७५ भदौ १८ मा मेसिन आपूर्ति भएको देखियो। मेसिन वीर अस्पतालको बंकरमा लगेर जडान गर्नु पर्ने थियो। तर मेसिन राख्न आवश्यक बंकरै बनिसकेको थिएन। अनि पुरानो मेसिन पनि फाल्नै बाँकी थियो। 

राख्ने ठाउँ नै नबनाई मेसिन ल्याएपछि त्यो अस्पतालमा हैन सशस्त्र प्रहरीको चौरमा पुग्यो। बंकरै नबनाई हतारमा मेसिन खरिद भएको र  चौरमा लगेर राख्दा मेसिन खिया लागेर बिग्रिएकोबारे उकेराले समाचार प्रकाशित गर्यो।

मेसिन आपूर्ति भएर सम्बन्धित विभाग तथा युनिटमा जडान भएपछि मेसिन माग अनुसार उपयुक्त छ-छैन भनेर प्राविधिक कमिटीको सिफारिस अनुसार स्टोरमा दाखिला भएपछि मात्र शत–प्रतिशत रकम भुक्तानी हुने सर्त थियो। मेसिन बुझाइएको थिएन।

हतारमा गरिएको खरिद प्रक्रिया शंकारहित थिएन। यसबारे निरन्तर फलोअप हुन थालेपछि मात्र वीर अस्पताल प्रशासन तात्यो। सम्झौता भएको एक सय ८० दिन अर्थात् २०७४ पुस २९ मा मेसिन ल्याएर जडान गरिसक्नुपर्ने सर्त देखाउँदै अस्पताल प्रशासनले ताकेता सुरु गर्यो।

मेसिन जडान गर्न र अस्पतालको पुरानो कोबाल्ट–६० मेसिन हटाउन पटक–पटक समय थप हुँदै गयो। प्रमाणहरू हेर्दा सो कोबाल्ट फालेर नयाँ मेसिन २०७५ भदौ १३ मा आइपुगेको देखिन्छ। 

लामो प्रयासपछि सप्लायर्सले अस्पतालको पुरानो ‘कोबोल्ट–६०’ मेसिन ‘सोर्स डिस्पोजल’का लागि  २०७६ चैत ७ मा क्यानडा पठायो। पुरानो ‘कोबाल्ट–६०’ क्यानडा पठाएर ठाउँ खाली गरे पनि मेसिन जडान हुन सकेन। मेसिन चौरमा खिया लागेर थोत्रो भइसकेको थियो।

त्यही बेलामा कोरोना महामारी आयो। आपूर्तिकर्ताले कोरोना महामारीका कारण उत्पादक कम्पनीबाट मेसिन परीक्षण गराउन नसकिएको तर्क गर्यो। कोभिडको महामारीले सामान्य रूप लिएसँगै २०७७ पुसमा उत्पादक कम्पनीका प्राविधिक टोली नेपाल आएर सशस्त्र प्रहरी अस्पताल प्रांगणको कन्टेनरमा रहेको मेसिन जाँच गर्दा मेसिन जडान गर्न नमिल्ने अवस्थामा पुगेको खुल्यो।

मूल्य महँगो, त्यसमा पनि बंकरै नबनाई मेसिन किन्नु, मेसिन लगेर चौरमा राखेर थोत्रो बनाउनु। यसमा आपूर्ति कम्पनी त संकटमा पर्यो नै, प्रतिष्ठान र वीरका पदाधिकारी पनि शंकामा तानिए। अनि दुवैले एक अर्कालाई दोषारोपण सुरु गरे।

सप्लायर्स कम्पनीले आफ्नो लापरबाहीबाट नभई वीर अस्पतालमा स्थान अभावका कारण मेसिन परीक्षण गर्न नसकेको तर्क गर्यो। प्रतिष्ठान र अस्पतालका पदाधिकारीहरूले बंकर बनाएर जडान गर्ने जिम्मेवारी सप्लायर्सकै भएको तर्क गरे। सम्झौताको सर्त अनुसार अब नयाँ मेसिन चाहिने उनीहरूको थप तर्क थियो।

टोमोथेरापी मेसिन बिग्रिएपछि सप्लायर्स कम्पनी पुनः नयाँ मेसिन ल्याइदिन तयार त भयो तर विवाद सकिएन। नयाँ मेसिन ल्याउन एलसी नै खोलिसकेको स्थितिमा प्रतिष्ठानले उपकुलपतिस्तरीय निर्णय गर्दै सम्झौता अनुसार मेसिन आपूर्ति हुने सुनिश्चितता नदेखिएको भन्दै कालो सूचीमा राख्ने लगायतको कारबाही गर्न २०७९ फागुन ५ मा सप्लायर्स कम्पनीलाई पत्र काट्यो।

कार्वाही रोक्नुपर्ने माग राख्दै सप्लायर्स कम्पनी पाटन उच्च अदालत गयो। अदालतले कार्वाही रोकिदियो। अनि लाइफलाइनले २०८० कात्तिक १ मा नयाँ मेसिन ल्याएर वीरमा जडान गर्यो। 

मापदण्ड अनुसार मेसिन छ छैन भनेर वीर अस्पतालको क्यान्सर विभागको तत्कालीन प्रमुख डा. विवेक आचार्यको टिमले नयाँ मेसिनको प्राविधिक परीक्षण गर्दै ठिक रहेको प्रतिवेदन दियो। अनि २०८० पुस १३ देखि टोमोथेरापी मेसिन सञ्चालनमा आयो। तर विवाद सकिएन।

OOO

कुल टेन्डरको रकम थियो ३९ करोड ९० लाख। यसमा मेसिनको मात्र ३३ करोड। तर सप्लायर्सले दोस्रो पटक २०८० भदौ ८ (सन् २०२३ अगस्ट २५) मा ल्याएको नयाँ टोमोथेरापी मेसिनको एलसीमा मूल्य खुल्यो ११ लाख अमेरिकी डलर। अर्थात्, १४ करोड ५६ लाख रुपैयाँ। 

मेसिन ल्याउँदा सप्लायर्स कम्पनी लाइफलाइनले तिरेको  एक करोड ७६ लाख रुपैयाँ भन्सारमा कर समेत जोड्दा मेसिनको मूल्य १६ करोड ३३ लाख हुन्छ।

पहिलो पटक ल्याएको टोमोको मूल्यसहितको सम्झौता पत्र।६ वर्ष अघि ३३ करोड २४ लाख  (३२ लाख अमेरिकी डलर) मूल्य परेको टोमोथेरापी मेसिन दोस्रो पटक कसरी १४ करोड ५६ लाख (११ लाख अमेरिकी डलर) मा आयो?   सप्लायर्स कम्पनीले दोस्रो पटक टोमोथेरापी मेसिन ल्याउँदा गुणस्तरहीन ल्याएका हुन् या यसको मूल्य नै १४ करोड भए पनि पहिला ३३ करोड देखाइएको हो भन्ने प्रश्न उठ्यो। बंकर बनाउँदाको वास्तविक लागत र पुरानो मेसिन नष्ट गराउँदाको खर्चमाथि पनि प्रश्न उठ्यो। अनि बाँकी रहेको ३० प्रतिशत भुक्तानी रोकियो ।

रोकिएको भुक्तानी माग्दै सप्लायर्स कम्पनी लाइफलाइन अदालत गयो। २०८० फागुन २ मा अदालतले मेसिनको भुक्तानी दिनु भनेर आदेश दियो।

अदालतको फैसलामा सम्झौता बमोजिम टोमोथेरापि मेसिन  ल्याएर २०८० पुस १३ बाट सञ्चालनमा आई बिरामीहरूले सेवा समेत पाएको भन्दै रकम भुक्तानी दिन भनेको छ। अस्पताल प्रशासन तत्कालीन भुक्तानी दिने तयारीमा देखिएन। कारण देखियो त्यही शंकास्पद मूल्य।

किन रोकियो भुक्तानी !

रोचक के भने अहिले जसले भुक्तानी गर्न मानिरहेका छैनन् उनै डा. विवेक आचार्यको टिमले दोस्रो मेसिन टेन्डरमा तोकिएको स्पेशिफिकेशन अनुसारकै रहेको भनेर प्रतिवेदन दिएको थियो। अहिले उनले नै मूल्यमा शंका गरिरहेका छन्।

मेसिनको मूल्य शंका बाहिर पनि देखिन्न। यदि एकै गुणस्तरको मेसिन हो भने दोस्रो पटक मेसिन ल्याउँदा कसरी १९ करोड सस्तो भयो?

उकेराले यसबारे सप्लायर्स कम्पनी लाइफलाइनका अधिकारीहरूसँग जिज्ञासा राखेको थियो। कम्पनीका प्रतिनिधि सुरेन्द्र नायरले उकेरासँग दोस्रो पटक मेसिन ल्याउँदा उत्पादक कम्पनी ‘एकुरे’सँगको समन्वयमा कम्पनीले पुरानो मेसिनको आधा मूल्य थप तिरेर टोमोथेरापी मेसिन ल्याएको दाबी गरे।

नयाँ मेसिनको मूल्य।उनले सोही कारण मूल्य पहिलो मेसिनको भन्दा सस्तो देखिए पनि गुणस्तर उही रहेको र कुनै जालझेल नगरेको दाबी गरे।

यसबारे यो खरिदमा जोडिएका वीरका तत्कालीन निर्देशक डा. भूपेन्द्र बस्नेतसँग जिज्ञासा राख्दा उनले भने,“केही कुरा गर्न बाँकी भए पनि त्यो पूरा भइसकेको छ। अब भुक्तानी गर्दा समस्या छैन।”

तर, प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्यले आफू भर्खरै आएकाले यो मेसिनको खरिद प्रक्रियालगायतको विषयमा बुझ्नुपर्ने भएकाले तत्काल भुक्तानी दिने प्रक्रिया रोकिएको बताए। 

असोज १६, २०८३ शुक्रबार १९:०१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।