यसरी असफल भयो सहकर्मीको घाँटी रेटेर विमान खसाल्ने पाइलटको प्रयास

यसरी असफल भयो सहकर्मीको घाँटी रेटेर विमान खसाल्ने पाइलटको प्रयास
फ्लाईदुबईको सोही विमानमा सवार एक यात्रु।

एजेन्सी : युएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको ‘फ्लाईदुबई’ को विमानभित्र एक पाइलटले आफ्नै सह-चालकमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका छन्।

तर, रक्ताम्मे अवस्थामा पनि अर्का पाइलट र चनाखो यात्रुहरूको अभूतपूर्व बहादुरीका कारण १७४ जना यात्रुको ज्यान जोगिएको छ। यो घटना फ्लाईदुबईको उडान नम्बर एफजेड-१०७३ मा भएको हो।

ककपिटभित्र के भयो?
विमान साउदी अरबको आकाशमा ३५ हजार फिटभन्दा माथि उडिरहेका बेला एक पाइलटले अर्का मुख्य पाइलट भारतीय नागरिक क्याप्टेन स्मित मच्छारमाथि अचानक चक्कु प्रहार गरे।

आक्रमणकारीले विमानलाई नियन्त्रणबाहिर लगेर जमिनमा ठोक्काउने प्रयास गरेका थिए। उक्त क्रममा विमान दुई मिनेटमै १७ हजार फिट तल खसेको थियो। विमान अनियन्त्रित भएर घुम्न थालेपछि क्याबिनमा रहेका यात्रुहरू त्रसित बनेका थिए।

तर, शरीरभरि चक्कुको गम्भीर चोट भए पनि क्याप्टेन स्मितले हिम्मत हारेनन्। उनले अर्का आक्रमणकारी पाइलटसँग प्रतिकार गर्दै ककपिटको ढोका भित्रबाट खोलिदिए। ढोका खुल्नेबित्तिकै बाहिर रहेका यात्रु र चालक दलका अन्य सदस्यहरू तुरुन्तै ककपिटभित्र छिरे।

हेडफोनको तारले बाँधेर आक्रमणकारी नियन्त्रणमा
विमानमा सवार यात्रिव यानिभ हायुनका अनुसार उनले ककपिटभित्र छिरेर आक्रमणकारी पाइलटको घाँटी च्याप्प समाते र अन्य यात्रुको सहयोगमा भुइँमा लडाए। त्यसपछि यात्रुहरूले आक्रमणकारीलाई मल्टिमिडिया हेडफोनको तार र प्लास्टिकको डोरीले बाँधेर पूर्ण रूपमा नियन्त्रणमा लिए।

त्यसपछि जहाजमै यात्रा गरिरहेका अन्य दुई जना बिदामा रहेका चालक दलका सदस्यले विमान सम्हाले र उत्तर-पश्चिमी साउदी अरबको ताबुक विमानस्थलमा आकस्मिक सुरक्षित अवतरण गराए।

घाइते पाइलट ‘नायक’ घोषित
आक्रमणबाट गम्भीर घाइते भएका भारतीय पाइलट क्याप्टेन स्मितलाई तत्काल साउदी अरबको अस्पताल भर्ना गरिएको छ। उनको अवस्था अहिले खतरामुक्त र स्थिर रहेको जनाइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले क्याप्टेन स्मितको खुलेर प्रशंसा गर्दै उनलाई ‘साँचो नायक’ को संज्ञा दिएका छन्। नेतन्याहुले भनेका छन्, ’गम्भीर घाइते भएर पनि उनले लडे, ककपिटको ढोका खोलेर यात्रुहरूलाई भित्र आउन दिए, जसका कारण १७४ जनाको ज्यान जोगियो र ठूलो विपत्ति टर्यो।’

विमानमा सवार अधिकांश यात्रुहरू इजरायली नागरिक थिए। साउदी अरबमा सुरक्षित अवतरणपछि उनीहरूलाई अर्को विमानमार्फत तेल अभिभ पुर्याइएको छ। विमानस्थलमा उनीहरूलाई राष्ट्रिय झन्डा, बाजागाजा र आँसुसहित आफन्तहरूले स्वागत गरेका थिए।

आतंकवादी आक्रमणको आशंका
विमान खसाल्ने प्रयास गर्ने पाइलटलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। घटनाको आधिकारिक कारण अझै खुल्न नसके पनि इजरायलका रक्षामन्त्रीले यसलाई ‘जिहादी आतंकवादी हमलाको प्रयास’ भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाबारे नेतन्याहुसँग कुरा गर्दै आक्रमणकारी सम्भवतः आतङ्कवादी हुनसक्ने बताएका छन्। यता, फ्लाईदुबई एयरलाइन्सले घटनाको आधिकारिक छानबिन भइरहेको जनाएको छ।

असोज १५, २०८३ बिहीबार ०८:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।