ककपिटमै दुई पाइलटबीच कुटाकुट, दुई मिनेटमै १७ हजार फिट तल झर्‍यो फ्लाईदुबईको विमान

ककपिटमै दुई पाइलटबीच कुटाकुट, दुई मिनेटमै १७ हजार फिट तल झर्‍यो फ्लाईदुबईको विमान

एजेन्सी : दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको ‘फ्लाईदुबई’को यात्रुवाहक विमानभित्र दुई जना पाइलटबीच कुटाकुट भएपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको छ।

अमेरिकी समाचार संस्था सीएनएनले उच्च स्रोतलाई उद्धृत गर्दै ककपिटभित्र चालक दलका दुई पाइलटबीच भएको विवाद र हानाहानका कारण विमान आकस्मिक रूपमा साउदीतर्फ मोडिएको पुष्टि गरेको हो।

उडान ट्र्याकिङ डेटाका अनुसार उत्तर-पश्चिमी साउदी अरबको आकाशमा रहँदा विमान दुई मिनेटको अन्तरालमै १७ हजार ४०० फिट तल झरेको थियो।

३४ हजार फिटको उचाइमा उडिरहेको विमान एक्कासि तीव्र गतिमा १६ हजार ६०० फिटमा झरेपछि पाइलटहरूले सुरुमा सामान्य आपतकाल जनाउने ‘कोड ७७००’ र केही समयपछि अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ‘कोड ७५००’ प्रसारण गरेका थिए।

त्यसपछि विमानलाई ‘म्यानुअल कन्ट्रोल’मा लिएर साउदी अबरतर्फ मोडिएको थियो।

सो क्रममा केही समयका लागि इजरायल र जोर्डनका एयर ट्राफिक कन्ट्रोलरसँग विमानको सम्पर्कसमेत विच्छेद भएको थियो। सुरक्षा जोखिमका कारण विमानलाई तेल अभिभस्थित बेन-गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थिएन।

अपहरणको अलार्म बजेलगत्तै इजरायलले आफ्नो आकाशमा लडाकु विमानहरू समेत परिचालन गरेको थियो। उक्त विमानमा चालक दलका सदस्यसहित १८० जना यात्रु सवार थिए, जसमा करिब १०० जना इजरायली नागरिक रहेको बताइएको छ।

यद्यपि, यो घटना विमान अपहरण नभएको इजरायली पक्षले स्पष्ट पारेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले फ्लाईदुबईको उक्त उडान अपहरणमा नपरेको जानकारी दिएका छन्।

हालसम्म विमान अपहरण भएको कुनै आधिकारिक पुष्टि नभएको र विमानभित्र भएको विवाद तथा साउदीमा आकस्मिक अवतरण गर्नुपरेको यकिन कारणबारे अनुसन्धान भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

असोज १४, २०८३ बुधबार १३:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।