इजरायली प्रधानमन्त्री नेतान्याहूको युएई भ्रमणप्रति इरान आक्रोशित, ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी

इजरायली प्रधानमन्त्री नेतान्याहूको युएई भ्रमणप्रति इरान आक्रोशित, ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा त्यहाँका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेपछि इरानले त्यसको विरोध गर्दै ‘अत्यन्त खतरनाक परिणाम’ आउन सक्ने चेतावनी दिएको छ।

इरानको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेतन्याहूको यूएई भ्रमणप्रति आपत्ति जनाएको हो। मन्त्रालयले इजरायलको क्षेत्रीय उपस्थिति तथा सुरक्षा सहकार्यले क्षेत्रीय शान्ति, स्थिरता र सुरक्षामा जोखिम बढाउन सक्ने दाबी गरेको छ।

इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सयौँ हजारौँ निर्दोष मानिसहरूको रगतले हात रङ्गिएका र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलिरहेका एक अपराधीको उपस्थिति अत्यन्तै खतरनाक र चिन्ताजनक छ। इस्लामिक गणतन्त्र इरान जायनिस्ट सरकारका युद्धप्रिय र बालबालिकाका हत्यारा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको युएई भ्रमणको कडा भर्त्सना गर्दछ र यस क्षेत्रमा ओगटिएको (इजरायली) शासनको उपस्थितिले ल्याउने गम्भीर परिणामहरूबारे चेतावनी दिन्छ।”

इरानले छिमेकी तथा क्षेत्रीय मुलुकहरूलाई इजरायलसँगको सुरक्षा तथा सैन्य सहकार्यका सम्भावित जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।  साथै, कुनै पनि देशको भूभाग छिमेकी मुलुकविरुद्ध अस्थिरता सिर्जना गर्ने गतिविधिका लागि प्रयोग हुन नदिन पनि उसले आग्रह गरेको छ।

“क्षेत्रीय सुरक्षा एक सामूहिक र अविभाज्य विषय हो,” इरानी विदेश मन्त्रालयले भनेको छ, “यस क्षेत्रका सरकारहरूले जायनिस्ट शासनको विनाशकारी उपस्थितिका लागि आधार तयार पार्नबाट जोगिनुपर्छ र आफ्ना भूमि अन्य देशविरुद्धको प्लेटफर्म बन्न दिनु हुँदैन।”

नेतान्याहूको युएई भ्रमणमा के भयो?
इजरायली अधिकारीहरूका अनुसार प्रधानमन्त्री नेतान्याहू आइतबार एक दिने अघोषित भ्रमणका क्रममा निजी विमानमार्फत आबु धाबी पुगेका थिए। त्यहाँ उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गरी केही घण्टापछि इजरायल फर्किएका थिए।

नेतान्याहूको कार्यालयले सुरुमा यस भ्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको थिएन। पछि युएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमले दुई नेताबीच भेटवार्ता भएको पुष्टि गरेको छ।

भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।

इरान किन चिन्तित छ?
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी उनका सर्वोच्च नेता लगायत शीर्ष अधिकारीहरूको हत्या गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गर्नुका साथै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज' जलमार्ग बन्द गरिदिएको थियो।

सात महिनायता जारी युद्ध सम्पूर्ण क्षेत्रमा फैलिएको छ। यस क्रममा इरानले अमेरिकी सेना रहेका कतार, बहराइन, कुवेत र जोर्डन जस्ता देशहरूका सैन्य संरचनाहरूलाई निशाना बनाउँदै आएको छ।

इरानले इजरायललाई आफ्नो मुख्य सुरक्षा चुनौती मान्दै आएको छ। खाडी मुलुकहरूसँग इजरायलको सैन्य तथा गुप्तचर सहकार्य विस्तार हुनुलाई तेहरानले गम्भीर खतराका रूपमा लिएको छ।

इजरायल र यूएईले सन् २०२० मा अमेरिकाको मध्यस्थतामा भएको अब्राहम सम्झौताअन्तर्गत औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। त्यसयता दुई देशबीच व्यापार, प्रविधि, लगानी तथा सुरक्षा लगायतका क्षेत्रमा सहकार्य विस्तार भएको छ।

असोज १४, २०८३ बुधबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।