ट्रान्सजेन्डर पहिचानको विवादका कारण न्यू योर्क टाइम्सका इन्जिनियरिङ प्रमुखको हत्या, सासू-ससुरा पक्राउ
एजेन्सी : न्यू योर्क टाइम्सका प्राविधिक कार्यकारी ४० वर्षीय जोनाथन म्याकिन्जीको क्यालिफोर्नियास्थित एक खेलकुद मैदानको पार्किङ क्षेत्रमा उनकै सासूससुराले गोली हानी हत्या गरेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो क्यालिफोर्नियाको डब्लिनस्थित 'डब्लिन स्पोर्ट्स ग्राउन्ड्स' को पार्किङ क्षेत्रमा म्याकिन्जीको गोली हानी हत्या गरिएको हो। हत्याको आरोपमा प्रहरीले उनका ७६ वर्षीय ससुरा शौयङ झाङ र ७६ वर्षीया सासू शिली चेनलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको आधिकारिक कारणबारे अनुसन्धान जारी रहेको बताए पनि अदालतको अभिलेख र पूर्व घटनाक्रमहरूले पारिवारिक एवं घरेलु विवाद नै हत्याको मुख्य कारण रहेको देखाएका छन्।
ट्रान्सजेन्डर पहिचान र पारिवारिक विवाद
म्याकिन्जी 'न्यू योर्क टाइम्स' मा 'गेम्स प्लेयर एक्सपिरियन्स' का इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत थिए। उनी ट्रान्सजेन्डर पुरुष थिए। म्याकिन्जीको ट्रान्स पहिचानलाई लिएर उनकी श्रीमती र ससुराली पक्षसँग लामो समयदेखि गम्भीर विवाद तथा घरेलु हिंसा हुँदै आएको खुलेको छ।
न्यू योर्क टाइम्सले अदालतको कागजातलाई उद्धृत गर्दै ४० वर्षीय म्याकिन्जी र उनकी श्रीमती क्यान्डिस च्याङ केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। गत वर्ष दुवैले एक-अर्काविरुद्ध घरेलु हिंसाबाट सुरक्षा पाउनका लागि अदालतमा निवेदन दिएको उल्लेख गरेको छ।
म्याकिन्जीले दिएको निवेदनमा सासू-ससुराले उनको ट्रान्स पहिचानका कारण निरन्तर मानसिक तथा शारीरिक यातना दिने गरेको उल्लेख छ। सासूले म्याकिन्जी र उनका छोराको कपडाको रोजाइलाई लिएर 'घिनलाग्दो', 'विकृत' र 'राक्षस' जस्ता अपशब्द प्रयोग गर्ने गरेको आरोप छ। यस्तै, सन् २०१० मा म्याकिन्जीको छातीको शल्यक्रिया (डबल मास्टेक्टमी) पछि निको हुने क्रममा ससुराले छातीमा मुक्का हानेको आरोप समेत म्याकिन्जीले लगाएका थिए।
दम्पतीबिचको हिंसात्मक इतिहास
म्याकिन्जी र उनकी पत्नीबीच पनि हिंसात्मक घटनाको इतिहास रहेको अदालतका अभिलेखबाट देखिएको छ। 'द मर्करी न्युज' का अनुसार सन् २०११ मा विवाह गरेका म्याकिन्जी र च्याङबिच पनि लामो समयदेखि हिंसात्मक विवाद रहँदै आएको थियो।
म्याकिन्जीले सन् २०१० मा महिलाबाट पुरुषमा रूपान्तरण हुनका लागि उपचार गराइरहेका बेला च्याङले उनको शरीरमा लगाइएको मेडिकल ट्युबहरू थुत्ने प्रयास गरेको आरोप लगाएका थिए। उनीहरूबिच सन् २०११ मा विवाह भएको थियो।
त्यस्तै, सन् २०१३ मा भएको अर्को झगडामा श्रीमतीले उनलाई फ्राइङ प्यानले हानेर कुटपिट गरेको र छोराछोरीलाई समेत मौखिक रूपमा दुर्व्यवहार गर्ने गरेको म्याकिन्जीले आरोप लगाएका थिए।
अर्कोतर्फ, अक्टोबर २०२५ मा दायर गरेको निवेदनमा श्रीमती क्यान्डिस च्याङले पनि म्याकिन्जीमाथि गम्भीर आरोप लगाएकी थिइन्। एक झगडाका क्रममा म्याकिन्जीले आफ्ना पाखुरा समातेर टेबलको कुनामा कुनामा पछारेको र त्यस क्रममा ढाडको माथिल्लो भागको हड्डी भाँचिएको च्याङले आरोप लगाएकी थिइन्। उनले म्याकिन्जीमाथि आफ्नी आमालाई मानसिक यातना दिएको र सन् २०१८ को एक झगडामा आफ्नो पाखुरामा नीलो डाम बस्ने गरी चोट पुर्याएको आरोप पनि लगाएकी थिइन्।
यसैगरी, सन् २०२५ मा डब्लिन प्रहरीलाई च्याङले दिएको उजुरीका आधारमा म्याकिन्जीमाथि ६ वर्षीय छोराको अनुहारमा झापड हानेको अभियोगमा दुईवटा 'बाल दुर्व्यवहार' को मुद्दा चलेको थियो। उक्त मुद्दामा म्याकिन्जीले आफू निर्दोष रहेको बयान दिएका थिए। न्युयोर्क पोस्टका अनुसार अदालतले उनलाई अभिभावकत्व सम्बन्धी तालिम लिने सर्तमा जेलमुक्त गरेको थियो।
न्यू योर्क टाइम्सका प्रवक्ताले शनिबार दिउँसो भएको गोलीकाण्डमा म्याकिन्जीको मृत्यु भएको पुष्टि गरेका छन्। उनी सन् २०२३ देखि उक्त सञ्चार माध्यममा कार्यरत थिए।
असोज १३, २०८३ मंगलबार १६:४७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।