क्यानडाली मदिरामा ट्रम्पको प्रतिबन्ध लागू

क्यानडाली मदिरामा ट्रम्पको प्रतिबन्ध लागू

एजेन्सी :  अमेरिकाले क्यानडाबाट आयात हुने मदिराजन्य उत्पादनमा लगाएको प्रतिबन्ध मंगलबारदेखि औपचारिक रूपमा लागू भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमसँगै विश्वका दुई निकट व्यापारिक साझेदारबीचको व्यापार युद्ध थप उत्कर्षमा पुगेको छ।

यो प्रतिबन्धबाट अमेरिकाले क्यानडाबाट वार्षिक आयात गर्ने करिब ८० करोड अमेरिकी डलर बराबरको मदिरा प्रभावित हुनेछ।

मदिराका साथै क्यानडाली दुग्धजन्य पदार्थ र मोटरसाइकलमा समेत प्रतिबन्ध लगाइएको छ, जसले कुल झण्डै १ अर्ब डलरको व्यापारलाई असर गर्नेछ।

ट्रम्पले सन् १९३० को पुरानो ‘स्मूट-हाउली ट्यारिफ एक्ट’ प्रयोग गर्दै यो प्रतिबन्ध लगाएका हुन्। क्यानडाका केही प्रान्तहरूले अमेरिकी मदिरा बिक्रीमा रोक लगाएपछि अमेरिकाले त्यसको बदलामा यो कदम चालेको हो।

क्यानडाको कुल मदिरा निर्यातको करिब ९३ प्रतिशत हिस्सा अमेरिकी बजारमा निर्भर रहेकाले यस प्रतिबन्धले क्यानेडियन उत्पादकहरूलाई ठूलो नोक्सानी पुग्ने देखिएको छ। यसअघि क्यानडाको नीतिका कारण अमेरिकी मदिरा निर्यात ७० प्रतिशतले घटेको थियो।

यद्यपि, चार लिटरभन्दा ठूला थोक कन्टेनरमा ल्याइने ह्विस्की र लिक्वेरमा भने प्रतिबन्ध लागू हुने छैन। अमेरिकी बजारमा अघिल्लो स्टक पर्याप्त रहेकाले उपभोक्ताले यसको तत्काल प्रभाव भने महसुस गर्ने छैनन्।

राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकासँग अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै आगामी तीन/चार साताभित्र क्यानडा सबै ट्यारिफ हटाएर सम्झौताका लागि तयार हुने दाबी गरेका छन्।

यता क्यानडाली प्रधानमन्त्री मार्क कार्नीले भने यसबारे कुनै लचिलो संकेत दिएका छैनन्।

असोज १३, २०८३ मंगलबार १३:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।