बेलायती सैन्य बेसनजिकै पक्राउ परेका पाँच जना धरौटीमा रिहा, चकित परे ट्रम्प

बेलायती सैन्य बेसनजिकै पक्राउ परेका पाँच जना धरौटीमा रिहा, चकित परे ट्रम्प

एजेन्सी : बेलायतको ग्लोस्टरशायरस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य विमानस्थलनजिकै आतंकवादी गतिविधिको आशंकामा पक्राउ परेका पाँच जना बेलायती नागरिकलाई प्रहरीले कडा शर्तसहित धरौटीमा रिहा गरेको छ।

लन्डनका बासिन्दा रहेका २३ देखि २५ वर्षका यी युवाहरूमाथि विस्फोटक पदार्थ ऐन उल्लंघन र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

आइतबार बिहानै विमानस्थल नजिकैको गाउँमा तीनवटा शंकास्पद भ्यान र मास्क लगाएका व्यक्तिहरू देखेपछि एक स्थानीय किसान महिलाले प्रहरीको आपत्कालीन नम्बर ९९९ मा खबर गरेकी थिइन्।

त्यसलगत्तै प्रहरीले सुरक्षा सतर्कता बढाउँदै आसपासका ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको थियो। हाल स्थानीय बासिन्दा घर फर्किसकेका छन् तर गाडीहरू नियन्त्रणमा लिएको स्थान अझै सिल गरिएको छ।

साथै, सुरक्षाका लागि विमानस्थलको ८ किलोमिटर क्षेत्रभित्र चङ्गा, बेलुन र प्याराग्लाइडर उडाउन प्रतिबन्ध लगाइएको छ।

यो सैन्य अखडा दशकौंदेखि अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको छ र हालैका महिनामा मध्यपूर्व तथा इरानविरुद्धको कारबाहीका लागि पनि अमेरिकी विमानहरूले यहीँबाट उडान भरेका थिए।

बेलायती आतंकवादविरोधी प्रहरीले पक्राउ परेका व्यक्तिहरू कुनै ‘विदेशी राष्ट्रका एजेन्ट’का रूपमा परिचालित भए/नभएको कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेको छ।

उता, लन्डनस्थित इरानी दूतावासले यस घटनामा इरानलाई जोडेर गरिएको प्रचारको कडा खण्डन गर्दै यसलाई निराधार र ‘इरानविरोधी षड्यन्त्र’ भनेको छ।

घटनापछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले उच्चस्तरीय आपत्कालीन ‘कोब्रा’ बैठक बोलाउँदै यथार्थ बाहिर नआएसम्म अनावश्यक अड्कलबाजी नगर्न सबैलाई आग्रह गरेका छन्।

अर्कोतर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निकै गम्भीर घटना भएको र यसमा ‘विदेशी शक्तिको हात’ रहेको दाबी गरेका छन्। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्धहरूलाई धरौटीमा छाडेकोमा आश्चर्य व्यक्त गर्दै आफूले कुनै पनि हालतमा उनीहरूलाई रिहा नगर्ने बताएका छन्।

असोज १३, २०८३ मंगलबार १०:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।