स्ट्रेट अफ हर्मुज खोल्ने इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, अमेरिकाको औपचारिक जवाफ पर्खंदै इरान
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट पुनः खोल्ने इरानको प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गरेपनि इरानले अझै पनि वासिङ्टनबाट औपचारिक जवाफको पर्खाइमा रहेको जनाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले मध्यस्थकर्ताहरूमार्फत अमेरिकाको आधिकारिक धारणा आउन बाँकी रहेको बताएका छन्।
यसअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको प्रस्ताव 'स्वीकार्य नभएको' बताएका थिए। ट्रम्पले शनिबार भनेका थिए, “म उनीहरूको सम्झौता अस्वीकार गर्दैछु।”
इरानले युद्धमा ठूलो क्षति व्यहोरिरहेकाले सात दिनभित्र व्यावसायिक जहाजका लागि हर्मुज स्ट्रेट खोल्ने सम्झौता गर्न हतारिएको ट्रम्पले दाबी गरेका थिए। साथै, अमेरिकाले हर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरिसकेको र त्यहाँबाट ‘ठूलो परिमाणमा तेल’ पार भइरहेको ट्रम्पले बताएका थिए।
इरानी विदेशमन्त्री अराघचीले टेलिग्राममार्फत ट्रम्पको अस्वीकृतिबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपतिले विगतमा पनि एकअर्कासँग बाझिने अभिव्यक्ति दिँदै आएको टिप्पणी गरे। उनले मध्यस्थकर्ताहरूले आधिकारिक धारणा ल्याएपछि मात्र इरानले थप निर्णय लिने र केवल 'वार्ताको माध्यमबाट' मात्र यो द्वन्द्वको समाधान सम्भव रहेको बताए। उनले भनेका छन्, “हामी मध्यस्थकर्ताहरूले हामीसम्म निर्णायक धारणा पुर्याउने प्रतीक्षामा छौँ। त्यसपछि हामी त्यसका आधारमा निर्णय गर्नेछौँ।”
इरानले जुन महिनामा अमेरिका र इरानबिच भएको समझदारी पत्रकै सर्तका आधारमा हर्मुज खोल्न सकिने दोहोर्याएको छ। इरानले यसै साता न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाका क्रममा भएको वार्तामा हर्मुज स्ट्रेट पुनः खोल्ने र शत्रुता अन्त्य गर्ने विषय उठाएको थियो।
विश्वको करिब पाँच भागको एक भाग तेल र ग्याँस ओसारपसार हुने यो रणनीतिक जलमार्ग गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि ठप्प छ, जसका कारण विश्वबजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।
मध्यस्थकर्ता र अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिका र इरानबिच मध्यस्थता गरिरहेको ओमानले भने सबै पक्षलाई संकट समाधानका लागि खुला संवाद जारी राख्न आह्वान गरेको छ। ओमानका विदेशमन्त्री सय्यद बदर बिन हमुद बिन हमूद अल्बुसैदीले संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै सङ्कट समाधानका लागि सबै पक्षलाई खुला संवाद जारी राख्न र जलमार्ग सुरक्षामा सहयोग गर्न आग्रह गरे।
अर्कोतर्फ, अमेरिकी निर्णयको समर्थन गर्दै नाटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्वाइटकरले इरानले अघि सारेका प्रस्तावहरू 'अपूर्ण र देखावटी' मात्र भएको भन्दै ट्रम्पको कदमको बचाउ गरे।
त्यसैगरी, अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका कारण इरान ठूलो आर्थिक मारमा परेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै टर्की, ओमान र संयुक्त अरब इमिरेट्सले विभिन्न इरानी एयरलाइन्सका उडानहरू रोकेको तथा यूएई र टर्कीका केही बैंकले इरानसँगको कारोबारसमेत रोकिसकेको बताएका छन्।
ट्रम्प प्रशासनले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिएको छ। ह्वाइट हाउसले आर्थिक दबाबमार्फत तेहरानलाई हर्मुज स्ट्रेटमा पानीजहाजमाथि हुने आक्रमण रोक्न बाध्य पार्ने रणनीति लिएको छ।
तर, पछिल्ला प्रतिबन्धहरू कति प्रभावकारी हुन्छन् भन्नेमा केही अर्थशास्त्रीहरूले प्रश्न उठाएका छन्। उनीहरूका अनुसार यसको प्रभावकारिता इरानका प्रमुख व्यापारिक साझेदारहरूले अमेरिकी प्रतिबन्धप्रति कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा निर्भर हुनेछ।
विशेषगरी, इरानका प्रमुख व्यापारिक साझेदारमध्ये चीन सबैभन्दा ठूलो इरानी तेल खरिदकर्ता हो। चीनले यसअघि पनि अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै इरानसँग व्यापार जारी राखेको छ।
असोज ११, २०८३ आइतबार १३:५५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।