जबरजस्ती विवाहका लागि पाकिस्तान पुर्याइएकी महिलाको उद्धार, दुई जना बार्सिलोनामा पक्राउ
एजेन्सी : झुक्याएर पाकिस्तान पुर्याई आफ्नै नातेदार (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ। घटनामा संलग्न रहेको आरोपमा स्पेनिस प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
क्याटालोनियाको क्षेत्रीय प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार जबरजस्ती विवाह गराउने उद्देश्यले मानव बेचबिखन गरेको आशङ्कामा ४१ र ४५ वर्षीय दुई पुरुषलाई जुलाई २१ मा बार्सिलोना विमानस्थलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बार्सिलोनामा कम्प्युटर पसल सञ्चालन गर्ने एक पाकिस्तानी नागरिकसँगको प्रेम सम्बन्धप्रति परिवारले स्वीकार गरेको भन्दै आफन्तहरूले ती महिलालाई सेप्टेम्बर २०२५ मा पाकिस्तान जान राजी गराएका थिए। तर पाकिस्तान पुगेपछि उनका आफन्तहरूले स्पेनिस राहदानी खोसेर उनलाई घरभित्रै नियन्त्रणमा राखेको र उनको इच्छाविपरीत कजिनसँग विवाह गराइदिएको आरोप छ।
महिलाका प्रेमीले अप्रिलमा प्रहरीलाई जानकारी गराउँदै उनलाई परिवारका सदस्यहरूले जबरजस्ती पाकिस्तान लगेको बताएका थिए। यसअघि उक्त घटनासँग सम्बन्धित दुई व्यक्तिले ती प्रेमीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमणसमेत गरेको प्रहरीले जनाएको छ।
स्पेनिस प्रहरीले पाकिस्तानस्थित स्पेनको दूतावाससँगको सहकार्यमा ती महिलाको अवस्थाबारे जानकारी सङ्कलन गरी उनको उद्धार गरेको थियो। त्यसपछि उनलाई सुरक्षित रूपमा स्पेन फर्काइएको र आवश्यक मनोसामाजिक तथा अन्य सहयोग उपलब्ध गराइएको प्रहरीले जनाएको छ।
प्रहरीले जबरजस्ती विवाह तथा प्रेमीमाथिको आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान जारी राखेको जनाएको छ।
बार्सिलोनामा पाकिस्तानी समुदायको उल्लेखनीय बसोबास रहेको छ। त्यहाँ २६ हजारभन्दा बढी पाकिस्तानी नागरिक दर्ता छन्, जसका आधारमा उनीहरू इटालियन र कोलम्बियन समुदायपछि तेस्रो ठूलो विदेशी नागरिक समूहका रूपमा रहेका छन्।
असोज १०, २०८३ शनिबार १८:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।