भारी वर्षाका कारण बैङ्ककका सबै ५० जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषित, जनजीवन अस्तव्यस्त

भारी वर्षाका कारण बैङ्ककका सबै ५० जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषित, जनजीवन अस्तव्यस्त

एजेन्सी : लगातार परेको भारी वर्षाका कारण थाइल्यान्डको राजधानी बैङ्कक र आसपासका क्षेत्रहरू जलमग्न बनेका छन्। बाढीको गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शहरका सबै ५० वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बिहीबार अपरान्हदेखि सुरु भएको अविरल वर्षा शनिबारसम्म जारी रहँदा राजधानीको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार बिहीबार दिउँसोदेखि शहरमा करिब ३०० मिलिमिटर (११.८ इन्च) भन्दा बढी वर्षा भइसकेको छ।

लगातारको वर्षाले बैङ्ककका मुख्य सडक, नहर तथा गल्लीहरू डूबानमा परेका छन् भने घर तथा पसलहरूसमेत पानी पसेर प्रभावित भएका छन्। विशेष गरी फेत्चाबुरी क्षेत्रमा सडकहरू तलाउमा परिणत भएका छन् भने सवारीसाधन आधाभन्दा बढी पानीमा डुबेपछि चालकहरू सडकमै गाडी छाड्न बाध्य भएका छन्। घर तथा पसलहरूमा पानी पसेका कारण शनिबार प्राय: सबै व्यापारिक प्रतिष्ठानहरू बन्द रहे।

नागरिकहरूलाई आफ्ना सवारी साधन सुरक्षित र उचाइ भएका स्थानमा राख्न आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सार्वजनिक यातायात प्राधिकरणले असोज १६ (अक्टोबर २) सम्मका लागि मेट्रो  स्टेशनका पार्किङहरू सर्वसाधारणका लागि नि:शुल्क खुला गरेको छ।

गभर्नर चाडचार्टले विशेषगरी शहरको पूर्वी भाग बढी प्रभावित भएको र नहर किनारमा बस्ने बासिन्दाहरू उच्च जोखिममा रहेको बताएका छन्।

बाढी प्रभावित क्षेत्रका मानिसहरू पिउने पानी र खाद्यान्न बोकेर सुरक्षित स्थानतर्फ लागिरहेका छन्। स्थानीय प्रशासनले शहरभरि २०० भन्दा बढी अस्थायी आश्रयस्थलहरू निर्माण गरेको छ, जहाँ हाल ९०० भन्दा बढी मानिसले शरण लिइरहेका छन्।

थाइल्यान्ड सरकारले सर्वसाधारणका लागि आपत्कालीन चेतावनी जारी गर्दै मोबाइल ब्रोडकास्ट सिस्टममार्फत सतर्क रहन आग्रह गरेको छ।

शनिबारसम्मको तथ्याङ्कअनुसार मध्य क्षेत्रका २१ प्रान्तका ८४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। बैङ्ककबाट पूर्वी प्रान्तहरूमा जाने क्षेत्रीय बस सेवाहरू स्थगित गरिएका छन्। यद्यपि, विमानस्थलको सेवा सञ्चालनमा रहे पनि खराब मौसमका कारण उडानहरू ढिलाइ हुन सक्ने चेतावनी दिइएको छ।

भारी वर्षाका कारण शहरका मुख्य नहरहरू भरिएर पानी सडक र बस्तीमा पसेपछि स्थानीय बासिन्दाहरूले यसलाई सन् २०११ मा आएको विनाशकारी बाढीसँग तुलना गरेका छन्। गभर्नरले वर्षा रोकिएपछि पानी बाहिर फाल्ने पम्पमार्फत स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताएका छन्। 

थाइल्यान्डको मौसम विज्ञान विभागले आइतबारसम्म देशका अधिकांश भागमा भारी वर्षा जारी रहने चेतावनी दिएको छ। मध्य क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अझै केही दिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

असोज १०, २०८३ शनिबार १६:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।