राष्ट्रसंघको महासभामा नेतन्याहूले ममदानीकी श्रीमतीबारे के भने?
एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सम्बोधनका क्रममा न्युयोर्कका मेयर जोहरान ममदानीमाथि कडा प्रहार गरेका छन्।
नेतन्याहूले मेयर ममदानीलाई ‘यहूदी-विरोधी’ भएको आरोप लगाउँदै उनको कदमले न्युयोर्कमा रहेका यहूदी समुदायको सुरक्षा खतरामा परेको दाबी गरेका छन्।
नेतन्याहूले आफ्नो भाषणमा भने, ‘ममदानीले पदभार सम्हालेपछि न्युयोर्कमा धेरै यहूदीहरूले आफूलाई सुरक्षित महसुस गर्न छाडेका छन्।’
करिब ३७ मिनेट लामो भाषणका क्रममा नेतन्याहूले ममदानीको आलोचना गर्न निकै समय खर्चिएका थिए।
ममदानीले गाजामा इजरायली सैन्य कारबाहीलाई ‘नरसंहार’ भनेको विषयमा नेतन्याहूले खण्डन गर्दै इजरायलमाथि नरसंहारको आरोप लगाउनु ‘यस शताब्दीकै सबैभन्दा ठूलो झूट’ भएको दाबी गरे।
मेयरकी पत्नीमाथि पनि निशाना
नेतन्याहूले महासभाको मञ्चबाटै ममदानीकी पत्नी रमा दुवाजीमाथि पनि निशाना साधे।
सिरियाली मूलकी एनिमेटर तथा इलस्ट्रेटर रमाले अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रशंसा गर्ने र तेल अवीभको अस्तित्व मेटाउनुपर्छ भन्ने सामाजिक सञ्जालका पोस्टहरू 'लाइक' गरेको आरोप नेतन्याहूले लगाए।
उनले मेयरलाई प्रश्न गर्दै भने, ‘तपाईं यस्ता भनाइहरूको निन्दा गर्न अस्वीकार गर्नुहुन्छ।’
ममदानीको प्रतिवाद: ‘नेतन्याहू युद्ध अपराधी हुन्’
मुस्लिम समुदायबाट न्युयोर्कको मेयर बनेका ममदानी लामो समयदेखि प्यालेस्टिनीहरूप्रति इजरायलको व्यवहारका कट्टर आलोचक हुन्। उनले नेतन्याहूलाई 'युद्ध अपराधी' भन्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको वारेन्टका आधारमा पक्राउ गर्नुपर्ने माग गर्दै आएका छन्।
नेतन्याहूको भाषणको कडा जवाफ दिँदै मेयर ममदानीले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कुनै पनि झूटले यो तथ्यलाई बदल्न सक्दैन कि उनी (नेतन्याहू) अझै पनि अन्तर्राष्ट्रिय अपराध न्यायालयको पक्राउ वारेन्टको दायरामा छन्, जसमा उनीमाथि युद्ध अपराध र मानवता विरोधी अपराधको आरोप छ।’
नेतन्याहूको भाषणका बेला ममदानी राष्ट्रसंघमा उपस्थित भएनन्। बरु, उनी सोही समयमा नेदरल्यान्ड्सका प्रधानमन्त्रीसँग एलजीबीटीक्यू+ (LGBTQ+) युवासँगको अन्तरक्रियामा सहभागी भएका थिए।
इजरायली चुनावमा ममदानी चुनावी मुद्दा
ममदानीको इजरायल-प्रतिको अडानले उनलाई नेतन्याहूको राजनीतिक प्रतिद्वन्द्वीजस्तै बनाएको छ। इजरायलमा अक्टोबर २७ मा हुन गइरहेको चुनावको प्रचारप्रसारमा नेतन्याहूले ममदानीलाई हतियार बनाएका छन्।
नेतन्याहूको लिकुड पार्टीले ममदानीको तस्बिरलाई इरान, टर्की र हिजबुल्लाहका नेताहरूसँगै राखेर इजरायलमा चुनावी पोस्टर बनाएको छ। यसै महिना सार्वजनिक गरिएको एउटा एआई भिडियोमा ममदानीलाई टर्कीका राष्ट्रपति एर्दोगान र इरानी सर्वोच्च नेता खामेनीसँग नेतन्याहूको हारको खुसियाली मनाइरहेको देखाइएको थियो।
नेतन्याहूलाई देशभित्रै चुनौती
झण्डै १९ वर्ष इजरायलको प्रधानमन्त्री रहिसकेका नेतन्याहूले यसपटक कडा चुनावी चुनौतीको सामना गरिरहेका छन्।
जनमत सर्वेक्षणहरूले उनले आगामी चुनावमा सरकार बनाउन आवश्यक बहुमत नल्याउने देखाएका छन्। 'इजरायल डेमोक्रेसी इन्स्टिच्युट' को एउटा सर्वेक्षणमा ६१ प्रतिशत इजरायलीले नेतन्याहूले फेरि चुनाव लड्न नहुने बताएका छन्।
अक्टोबर ७ को आक्रमण रोक्न नसकेको र अमेरिका लगायतका प्रमुख शक्ति राष्ट्रहरूसँगको सम्बन्ध कमजोर बनाएको भन्दै देशभित्रै उनको आलोचना भइरहेको छ।
यद्यपि, ट्रम्प प्रशासनले यसै महिना इजरायललाई २.८ अर्ब डलरको हतियार प्याकेज प्रस्ताव गरे पनि इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र नेतन्याहूबीचको असन्तुष्टि बाहिर आएको छ।
असोज ९, २०८३ शुक्रबार १०:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।